मधेसमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रले एउटै मन्त्रालयमा दाबी गरेका छन्।
दुवै दलले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दा आज ती दुई दलबाट मन्त्री नियुक्त हुन सकेन।
सात दलिय गठबन्धनबाट गएको शुक्रबार मधेसको मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले आज बिहान पद तथा गोपनियताको शपथपछि सानो आकारको मन्त्रिपरिषद् पनि गठन गरेका छन्।
उनले कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेललाई मन्त्री नियुक्त गरेका हुन्।
जंगीलाल र पटेलले विनाविभागीय मन्त्रीको शपथ खाँदा जनमतका महेश यादवले प्रदेशमा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा नियुक्ति पाएका छन्।
मन्त्रालय नटुंगिएकाले आज आफनो दलले मन्त्री नपठाएको माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराई समिरले बताए। माओवादी, जसपा र लोसपाबाट आज मन्त्री नियुक्त भएनन्।
‘माओवादी र जसपा दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गरिरहेका छन्,’ भट्टराईले भने, ‘यो मन्त्रालयको टुंगो लागेपछि मात्रै अब थप मन्त्री नियुक्त हुन्छन्।’
भोलि फेरि दलहरूबीच छलफल हुने उनले बताए।
‘हामीले कि सभामुख कि त भौतिक मन्त्रालय हामीलाई चाहिन्छ भन्ने माग गरेका छौँ,’ उनले भने, ‘भौतिक मन्त्रालय हामीलाई नदिने हो भने सभामुख हामीलाई दिने सहमती दलहरूबीच हुनुपर्छ।’
उनले भोलिको छलफलमा सहमति हुने र थप मन्त्री नियुक्त हुनसक्ने विश्वास व्यक्त गरे। मन्त्रिपरिषद्ले पूर्णता भने मुख्यमन्त्री यादवले विश्वासको मत लिएपछि मात्रै पाउने उनको भनाई छ।
मुख्यमन्त्री यादवले यही मंसिर २४ गते प्रदेश सभामा विश्वासको मत लिने बताएका छन्।
Shares

प्रतिक्रिया