नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले गृहजिल्ला रोल्पामा घरदैलो अभियान थालेका छन्। गत निर्वाचनको वेला बिरामी भएर घरदैलो गर्न नसकेका पुनले यस पटक सबै वडामा पुग्ने योजना बनाएको बताए।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा एक नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तहका ७२ वडा छन्। ‘यसअघिको चुनावमा बिरामी थिएँ। स्वास्थ्य समस्याले सबैतिर पुग्न सम्भव भएन’, पुनले भने, ‘यो पटक सबै वडामा पुग्छु। मतदातासँग प्रत्यक्ष साक्षत्कार गर्छु र सुझावहरु लिन्छु।’ गत निर्वाचनमा उनी जण्डिसले थलिएका थिए।
उनले मंगलबार त्रिवेणी गाउँपालिकाका सातै वडामा दरदैलो गरेका छन्। यसअघि सोमबार रुण्टीगढी गाउँपालिकाका नौवटै वडा पुगेका थिए।
घरदैलोका क्रममा मतदाताले विकास निर्माणसँग सम्बन्धित सुझाव धेरै दिएको उनले बताए। ‘मतदाताका माग स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी र सञ्चारसँग सम्बन्धित धेरै छन्’ पुनले भने।
कतिपय मातदाताले विकास आयोजनामा निर्माण व्यवसायीबाट हुने गरेका ढिलासुस्ती, आयोजनाको गुणस्तर तथा सरकारी निकायको फितलो अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका छन्। ‘सांसदले मेरो भूमिका कानून बनाउने हो, विकास निर्माण गर्ने होइन भनेर पन्छिन सक्ने वा मिल्ने अवस्था छैन्’, पुनले भने, ‘एउटा सांसद मतदाताको प्रतिनिधि हो, विकासे एजेन्ट पनि हो, अभिभावक पनि हो र सेवक पनि हो।’
माओवादी सशस्त्र संघर्षको उदगमथलो रोल्पाबाट उनी २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचिन भएका थिए। यस पटक फेरि उनले उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया