कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ।
कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको भइरहेका बेला देउवालाई भट्न मुख्यमन्त्री कँडेल देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। बिहीबार कांग्रेस सभापति देउवालाई भटेको जानकारी कँडेलले सामाजिक सञ्जालमार्फत गराएका छन्।
‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज उहाँकै निवास बूढानीलकण्ठमा भेटघाट भयो। भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारबाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो,' उनले भनेका छन्, 'महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछु।’
कांग्रेस–एमाले मिलेर बनेको कर्णाली सरकारले एक वर्ष पूरा गरे पनि यी दुई दलबीचको सम्बन्ध अझै सुध्रन सकेको छैन।
केही समयअघि एमाले संसदीय दलको बैठकले कांग्रेसलाई गठवन्धनको मर्मअनुरुप नचलेको आरोप लगाएको थियो। एमालेको आरोपछि दुई दलबीचको प्रदेशस्तरीय संयत्रको बैठकबाट सरकारका कामकारबाहीलाई थप व्यवस्थित लैजाने सहमति भएपछि तत्काललाई सत्ता संकट टरेको थियो।
Shares

प्रतिक्रिया