ad ad

राजनीति


सञ्जुलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीको टिम पुग्यो, सुवासको परिवारलाई कसैले सम्पर्क गरेन

सञ्जुलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीको टिम पुग्यो, सुवासको परिवारलाई कसैले सम्पर्क गरेन

दिनेश बुढा
जेठ २४, २०८० बुधबार ९:४६, सुर्खेत

जेठ १६ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तिसोनारी गाउँपालिकामा भएको कार दुर्घटनामा दुई जनाको ज्यान गयो।

दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्रामकी ५३ वर्षीया डा.सञ्जु खड्का र गोरखाको पालुङटार गाउँपालिका–३ का ३७ वर्षीय सुवास अधिकारीले ज्यान गुमाए। 

डा. सञ्जु सवार उक्त कार सुवासले चलाएका थिए। पश्चिमबाट पूर्वका लागि छुटेको बस कारसँग ठोक्कियो। दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी तथा कर्णाली प्रदेश अस्पताल कालागाउँका निर्देशक प्राडा डम्बर खड्काकी श्रीमती डा. सञ्जु र चालक सुवासले ज्यान गुमाएका थिए।

डा. सञ्जुलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिम कर्णाली आएको थियो।

प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकोप्टरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर हुँदै खप्तड पुग्ने योजनाका साथ वीरेन्द्रनगर पुगेको थियो। 

प्रधानमन्त्री प्रचण्डको साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायत थिए।

प्रधानमन्त्रीलाई बोकेको नेपाली सेनाको हेलिकोप्टरले मंगलबार बिहान १०ः बजेर १३ मिनेटमा सुर्खेत विमानस्थलमा अवतरण गर्‍यो। त्यहाँ १० मिनेट जति कर्णाली सरकाका मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरू र कार्याकर्ताको स्वागतपछि सुरक्षाकर्मीहरुको तामझामका साथ उक्त टोली पूर्णबहादुर खड्काको घरतर्फ सोझियो।

टोली मंगलबार बिहान १० बजेर २७ मिनेटमा खड्कको घरमा पुगेर डा. सञ्जुको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भयो। प्रधानमन्त्रीले डा. सञ्जुको फोटोमा माला लगाएर श्रद्धाञ्जली दिए। त्यसपछि केही समय उनीहरू त्यहाँ बसे, आफन्तसँग समवेदना प्रकट गरे।

त्यहाँ रक्षामन्त्री खड्काले प्रधानमन्त्रीको टिमलाई डा. सञ्जुका श्रीमान्, उनका छोराहरूको बारेमा जानकारी गराए। केही समय कुराकानी भयो। उक्त कुराकानीमा पूर्णबहादुरले भने, ‘मैले हवाईजहावमा जानु भनेको थिएँ।’ खड्काले हवाईजहाजमा वीरेन्द्रनगर गएको भए घटना हुँदैन थियो कि भन्ने भाव प्रकट गरे।   

यस्तै, त्यहाँ मान्छे मरेपछि हुने सामाजिक संस्कार पूर्व र पश्चिमतिर फरक हुने चर्चा पनि भयो। गृहमन्त्री श्रेष्ठलाई खड्काले सोधे, ‘तपाईं खप्तड जानु भएको छ?’ जवाफमा उनले भने, 'छैन।'

त्यसपछि खड्काले थपे, ‘म पनि गएको छैन। जाने इच्छा थियो। तर, अब यस्तो अवस्थामा जान मिल्दैन।’ 

पानी र फलफूल खाइसकेपछि प्रधानमन्त्रीसहितको टोली १०ः४३ बजेको समयमा खड्काको परिवारबाट बिदा भएर खप्तडको यात्रामा निस्कियो।  

प्रधानमन्त्रीसहितको उक्त टोलीले डा. सञ्जुलाई दिएको श्रद्धाञ्जलीका तस्बिर र भिडिओहरू सामाजिक सञ्जाल फेसबुक, टिकटकतर्फ यत्रतत्र छन्। 

प्रधानमन्त्रीसहितको खड्काको घरमा पुगेर डा. सञ्जुलाई श्रद्धाञ्जली दिइरहँदा सँगै ज्यान गुमाएका सशस्त्र प्रहरीको परिवार भने एक्लो थियो। त्यहाँ सरकारका तर्फबाट कसैले सान्तवना दिएन, फोन गरेर समवेदना सम्म प्रकट गरेनन्।

सशस्त्र हलवदार सुवासका दाइ ईश्वर अधिकारीका अनुसार विगत ६ वर्षदेखि पहिला पछुवा गाडी र पछि खड्काको गाडी चालकका रूपमा काम गर्दै आएका थिए। सुवास १६ वर्षदेखि सशस्त्र प्रहरीमा थिए।

एउटै कारमा सवार, एउटै दुर्घटनामा ज्यान गुमाएका डा. सञ्जु र सशस्त्रका वरिष्ठ हवलदार सुवासलाई सरकारले फरक व्यवहार गरेको छ। 

विगत ६ वर्षदेखि उपप्रधानमन्त्री खड्काकै सुरक्षामा खटिएका सुवासको परिवारसँग सरकार सम्पर्कविहीन छ। 

सशस्त्र प्रहरी बलका केही सुरक्षाकर्मीहरूले भने सुवासको घरमा पुगेर आमा/बाबालाई सान्तवाना दिएका छन्। सुवासको परिवारलाई खड्काको सचिवालयका मान्छेले समेत सम्पर्क गरेका छैनन्।

सुवासका दाइ ईश्वर अधिकारीले नेपालखबरसँग भने, ‘सशस्त्र प्रहरीका केही मान्छेहरू आउने, सम्झाउने गर्नुभएको छ। तर, रक्षामन्त्री खड्काको र सरकारका तर्फबाट कुनै सम्पर्क भएको छैन।’

यो पनि

भाइबुहारीसँगै कार दुर्घटनामा हवलदारको मृत्यु भएपछि उपप्रधानमन्त्री खड्काप्रति प्रश्न

भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .