राजनीति


अघिल्लो चुनावमा उम्मेदवार बनेका राजु राईले रास्वपा छोडे, भने- पुरानोजस्तै लागेपछि छाड्देको हो

अघिल्लो चुनावमा उम्मेदवार बनेका राजु राईले रास्वपा छोडे, भने- पुरानोजस्तै लागेपछि छाड्देको हो

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १४:३४, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट २०७९ सालको निर्वाचनमा कास्की-१ बाट उम्मेदवार बनेका राजु राईले पार्टी परित्याग गरेका छन्। 

टिकट वितरणदेखि नै असन्तुष्ट रहँदै आएका राईले आज बिहान फेसबुकमार्फत आफ्नो विचार राख्दै पार्टी छाडेको घोषणा गरेका हुन्। ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ।आजबाट राजनीति र पार्टीका लागि एक कौडी पैसो र एक सेकेन्ड खेर फाल्ने छैन। स्वतन्त्र नागरिक बनेर समाजसेवामा लाग्नेछु,’ राईले लेखेका छन्। 

गत माघ ४ गते नै टिकट नपाउने छाँट देखिएपछि ‘नेताको चाकडी गरेर सांसद हुनुभन्दा जनातको कमारो बन्न तयार छु’ भन्ने अभिव्यक्ति दिएका थिए। अहिले कास्की-१ बाट रास्वपाले लेखकसमेत रहेका खडकराज पौडेल ‘गनेस’लाई मैदानमा उतारेको छ। 

बालेन्द्र शाह (बालेन) रास्वपामा गएपछि गनेस रास्वपाको केन्द्रीय सदस्य मनोनित भएका थिए। उनी यसअघिको चुनावमा लौरो चुनाव चिह्नसहित पोखरा महानगरको मेयरका प्रत्यासी थिए। 

चुनावमा दोहोरिने आशा राखेका राई आफूलाई टिकट नदिएपछि दुःखी बनेका थिए। किन पार्टी छाड्नु भयो भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘राजनीति भनेको फरक र नयाँ भनेर लागेको थिएँ, पुरानोजस्तै लागेपछि छाड्देको हो।’

केही विषयमा मन दुख्यो भन्ने अर्को प्रश्नमा राईले भने, ‘नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने अवस्था आएपछि हो।’

तपाईंसँग पनि पैसा मागे त? ‘पैसा माग्न सकेनन् र त टिकट दिएनन् त। २५ हजार हाल्ल लगाए, त्यसपछि एकपटक फोन पनि गरेनन्,’ उनले भने। 

कास्की-१ मा खासै परिचित नरहेका राईले गएको चुनावमा १० हजार ९४१ मत प्राप्त गरेका थिए। उनीभन्दा अगाडि विजयी बनेका नेकपा (एमाले) का मनबहादुर गुरुङले २५ हजार ७०८ र नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८९ मत प्राप्त गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १ हजार २९ मत ल्याएका थिए।

यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २१ हजार ४२३, कांग्रेसले १६ हजार २६८, रास्वपाले १५ हजार ८६४, माओवादीले ५ हजार १०८, राप्रपा ३ हजार ८६६ र नेकपा (एकीकृत समाजवादी) ले १ हजार १३ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad