गण्डकी प्रदेश सभाले पूर्णता पाएको छ। यहाँ थ्रेसहोल्ड कटाएर समानुपातिक सिट सुरक्षित गरेका एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नोतर्फबाट सांसदको अन्तिम सूची बुझाएपछि ६० सदस्यीय प्रदेश सभाले पूर्णता पाएको हो।
गण्डकी प्रदेश सभामा ६० मध्ये प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सिट रहेको छ। जसमध्ये एमालेले पाएको १० सिटमा बागलुङ र कास्कीले ४–४ जना सांसद पाएको छ।
बागलुङबाट लीलाबहाुदर थापा, गोविन्दबहादुर नेपाली कृृष्णप्रसाद पाठक, र विनाकुमारी थापा सांसद बनेका छन्। कास्कीकी राजकुमारी भुजेल, देवका पहारी र प्रकाशबहादुर केसी र नन्दकला दमाइ, स्याङ्जाकी निर्मला थापा तथा लमजुङकी यशोदा रिमाल सांसद बनेका छन्।
९ सिट पाएको नेपाली कांग्रेसले बागलुङका दिलमाया पौडेल विक, चम्पादेवी खड्का, म्याग्दीकी विमला गौचन, पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ, लमजुङकी पार्वती तामाङ र टीकाकुमारी बस्याल र स्याङ्जाकी सरस्वती अर्याल र कल्पना तिवारीलाई सांसद बनाएको छ।
माओवादी केन्द्रले बागलुङका कुसुम बुढा, गोरखाका सुशीला सिंखडा र नवलपुरकी दमयन्ती रुचाललाई सांसद बनाएको छ। पहिलोपटक प्रदेश सभामा प्रवेश गरेको राप्रपाले स्याङ्जाकी पञ्चकुमारी गुरुङ र लमजुङकी विन्दु अधिकारी (पहाडी)लाई प्रदेश सभा पठाएको छ।
समग्रमा एमालेले ३ लाख ६७ हजार ९८९, कांग्रेसले ३ लाख ४९ हजार ६२८, माओवादीले १ लाख १६ हजार ९४५ मत पाए।
चौथो बनेको राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एस ले १५ हजार ७६ र जनमोर्चाले १४ हजार ९४० मत पाएको थियो। गण्डकीमा कुल खसेको मत मध्ये ९ लाख ८५ हजार ८०२ मत सदर भएको थियो।
प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने प्रावधान अनुसार एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको हो।
प्रत्यक्षतर्फ गण्डकीमा कांग्रेसले १८, एमालेले १२, माओवादीले ५ र हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर मनाङ ‘ख’ बाट स्वतन्त्र जितेका राजीव गुरुङ दीपक मनाङे सांसद रहेका छन्। अघिल्लो पटक समानुपातिकमा २ सांसद पाएको जनमोर्चा भने राप्रपाको इन्ट्रीपछि प्रदेश सभाबाट बाहिरिएको छ।
प्रतिक्रिया