यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मत गणनाबाट शुक्रबार साँझसम्म सातवटा राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाएको औपचारिक जानकारी निर्वाचन आयोगले गराएको छ।
राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा क्रम्तीमा एक सिट जितेर समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएको हुनुपर्छ।
निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ‘थ्रेसहोल्ड’ कटाएका हुन्।
आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १ करोड ३ लाख ८२ हजार ८५ मत गणना भइसकेको छ। जसअनुसार एमालेले सबैभन्दा बढी २७ लाख ७३ हजार ९९९ मत पाएको छ भने दोस्रोमा कांग्रेसले २६ लाख ४४ हजार २४१ मत ल्याएको छ।
आयोगको तथ्यांकअनुसार माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ समानुपातिक मत प्राप्त गरेका छन्।
अब दोलखा, बाजुरा र स्याङ्जा २ को अन्तिम मत परिणाम आउन बाँकी छ। त्यहाँ मत गणना जारी छ।
तर अहिलेसम्मको मत परिणामले माथि उल्लिखित सात दलबाहेक अन्यले थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिएको निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। डेढ लाखजति मत गन्न बाँकी रहेकाले अहिले ठोकुवा गर्न नसकिए पनि अहिलेकै ‘ट्रेन्ड’अनुसार बाँकी मत सबै दलमा बाँडिने हो भने अब अर्काे दलले थ्रेसहोल्ड पार गर्ने सम्भावना एकदमै कम रहेको उनको भनाइ छ।
त्यसमा पनि सम्भावनाको नजिक पुगेको एउटा मात्र अर्काे दल छ– सत्तारुढ नेकपा एकीकृत समाजवादी। उसले अहिलेसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ।
निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका थिए। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ (एकिन तथ्यांक आउन बाँकी)।
अब खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशत कटाउन ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने अहिलेसम्मको हिसाबले देखाउँछ। तर अहिलेसम्म ३ लाख पनि मत नपुर्याएको एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्ने सम्भावना अत्यन्तै न्यून देखिन्छ।
राष्ट्रिय दलको मान्यता पाउँदा र नपाउँदा के फरक पर्छ?
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला भन्छन्, ‘राजनीतिक रूपमा केही भिन्नता होला तर संघीय संसद् सचिवालयको दृष्टिकोणले पाउने सेवा-सुविधामा अरू दल र राष्ट्रिय मान्यता प्राप्त दलमा खास फरक हुँदैन।’
नेपालखबरको जिज्ञासामा उनले थपे, ‘राष्ट्रिय दल भएकै कारण अतिरिक्त थप सुविधा केही पनि हुँदैन।’
उनका अनुसार २ जनासम्म सदस्य (सांसद) भएका कुनै पनि दलले संसदीय दल गठन गर्न सक्छ र संसदीय दल गठन गरेको खण्डमा त्यस्तो दललाई संघीय संसद् सचिवालयले कार्यालय उपलब्ध गराउँछ।
यस्तै १० जना सदस्य भएको दलले दलको प्रमुख सचेतक नियुक्ति गर्न पाउने उनले बताए। त्यस्ता दलले प्रमुख सचेतकका लागि सचिवालय र सुविधा पाउँछन्। नत्र राष्ट्रिय दल भएकै कारण अतिरिक्त सुविधाको व्यवस्था नहुने उनले दोहोर्याए।
राष्ट्रिय दल हुनुको राजनीतिक महत्त्वचाहिँ त्यस्तो दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिह्न कायम राख्न पाउँछन्। तर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेका राजनीतिक दलले हरेक चुनावमा उही पाउँछन् भन्ने निश्चित हुँदैन।
Shares
प्रतिक्रिया