प्रतिनिधि सभासँगै प्रदेश सभातर्फ पनि लुम्बिनीमा मतगणना सकिएको छ। प्रदेशसभाका ५२ वटै क्षेत्रको नतिजा आइसकेको छ।
प्रदेश सभातर्फ नेकपा एमाले १८ स्थानमा विजयी भएर पहिलो दल बनेको छ। नेपाली कांग्रेसले १७ क्षेत्र जित्दा माओवादी केन्द्र ५ स्थानमा विजयी भएको छ।
माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेद्वारले पनि प्रदेश सभामा प्रवेश पाएका छन्।
यस्तै जसपा, राप्रपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका पनि दुई दुई सांसद विजयी भएकाा छन्। जनमत पार्टीले एउटा सिट जितेको छ।
समानुपातिकतर्फ सिट बाडफाँडको टुंगो लागेको छैन। गणना भएको मतलाई आधार मान्दा एमालेले १२ सिट पाउने सम्भावना छ। कांग्रेसको १० सिट आउने देखिन्छ।
त्यस्तै माओवादी केन्द्रले ४ सिट, राप्रपा र नागरिक उन्मुक्ती पार्टीले प्रदेश सभामा ३–३ सिट थप्न सक्छन्।
जनमत पार्टीले २ र जनता समाजवादी पार्टीको १ सांसद समानुापतिकबाट पाउने अनुमान गरिएको छ। यसमा एकाध तलमाथि पर्न सक्छ।
नयाँ सरकारका विकल्प
लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकबाट आएका सांसद संख्या ८७ हुने छ। सरकार बनाउन आवश्यक बहुमत सांसद संख्या ४४ चाहिन्छ।
प्रदेश सभामा एमाले पहिलो दल बन्ने पक्का भएको छ। उसको प्रत्यक्ष र समानुपातिक गरेर ३० सिट हुन सक्छ। उता कांग्रेसको २७ हुने छ। कसैको पनि बहुमत नपुग्दा अरु दलसँग सहयोग लिनुपर्छ।
लुम्बिनीमा कांग्रेसलाई गठबन्धन दलको साथ लिएर सरकार बनाउन थप १७ सांसद चाहिन्छ। प्रत्यक्ष र समानुपातिकसहित माओवादी केन्द्रबाट ९ जना सांसद बन्न सक्छन्।
माओवादीका बागीले जितेका ३ जनाले सघाएमा १२ थपिन्छन्। लोसपाको २ सिट थपिँदा १४ हुने छ। यसरी ४१ सिट जुटाएको कांग्रेसलाई थप ३ सांसद चाहिन्छ।
गठबन्धनभित्रका एकीकृत समाजवादी र जनमोर्चा प्रदेश सभामा आउने सम्भावना कमजोर छ। त्यसैले सत्ता गठबन्धनको पक्षमा बहुमत पुग्ने सम्भावना देखिँदैन।
पाँच दलीय गठबन्धनसँग बहुमत नपुगेमा एमालेले पनि सरकार बनाउन पहल गर्ने छ। समानुपातिक समेत गरेर एमालेको ३० सांसद हुँदा सरकार बनाउन उसलाई थप १४ सांसद आवश्यक पर्दछ।
उसले राप्रपा र जसपासँग पनि सहकार्य गर्न खोज्छ। राप्रपाको समानुपातिकसहित ५ सिट भएमा त्यसमा जसपाको २ सिट थपिँदा एमालेको पक्षमा ३७ पुग्ने छ। बहुमत जुटाउन ७ सांसद अझै अपुग हुने छन्।
यस्तो अवस्थामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक बन्न सक्नेछन्।
प्रत्यक्षमा २ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा ३ सिट पाएमा उसको ५ सांसद पुग्ने छ।
प्रत्यक्षमा एक सिट जितको जनमतले पनि २ जना समानुपातिकबाट ल्याएमा उसको ३ सांसद हुने छन्। नागरिक उन्मुक्ति र जनमत गरेर प्रदेश सभामा ८ सांसद हुने छन्।
लुम्बिनीमा सरकार बनाउन कांग्रेस–माओवादी गठबन्धनलाई जनमत वा नागरिक उन्मुक्ति पार्टीमध्ये कुनै एकले समर्थन गरे पुग्छ। तर, एमाले राप्रपा-जसपा गठबन्धनलाई नयाँ उदय भएका दुवै दलको साथ चाहिन्छ।
त्यसैले लुम्बिनी प्रदेशमा आगामी प्रदेश सरकार गठनको लागि नयाँ उदय भएका नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टी निर्णायक बन्न सक्नेछन्।
प्रतिक्रिया