ad ad

राजनीति


टोपबहादुरको संसदीय राजनीति : हँसिया हथौडा छाडेपछि सूर्य पनि फाप्यो

टोपबहादुरको संसदीय राजनीति : हँसिया हथौडा छाडेपछि सूर्य पनि फाप्यो

सागर न्यौपाने
मंसिर ८, २०७९ बिहिबार १६:५४, काठमाडौँ

संसदीय चुनावमा जान चौथो पटक तयारी गरिरहँदा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपालखबरसँग कुरा गर्दै भनेका थिए, ‘अर्घाखाँचीबाट तीन पटक विजयी भएर गएदेखि यही जिल्लामा केन्द्रित छु, जनताले यो कुरा थाहा पाउनुभएको छ, यसपटक कन्फर्म चुनाव जित्छु।’

३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई हराउँदै केही पालिका जिताएको दाबी गरेका उनी त्यही कारण प्रतिनिधि सभा पनि जित्नेमा ढुक्क देखिएका थिए। 

तर नेकपा माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ मा जितेका उनी चौथोपटकको चुनाव एमालेको सूर्य चिह्न लिएर लड्दै थिए। 

त्यही भएर पनि रायमाझीलाई जित्न कठिन रहेको विश्लेषण गरिएको थियो।

त्यो किन पनि भने गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार थिइन। भुसाल पनि त्यही क्षेत्रकी हुन्। तर, निवर्तमान उपसभामुखसमेत रहेकी भुसाल निकै कमजोर देखिइन्। 

रायमाझीले भनेजस्तै नतिजा उनकै पक्षमा आयो, गठबन्धनकी उम्मेदवार भुसाललाई ३ हजार मतान्तरले पराजित गर्दै रायमाझी चौथोपटक सिंहदरबार प्रवेश गरेका छन्।

२०७० को दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमै जितेको एउटा अर्घाखाँची मात्र थियो।

रायमाझीले २०६४ को पहिलो संविधान सभा चुनाव पनि सानदार मत ल्याएर जितेका थिए।

...अनि बाटो मोडियो 
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रायमाझी अर्घाखाँचीबाटै विजयी भएका थिए।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि उनी माओवादीमा फर्किएनन्।

केपी ओली क्याबिनेटको तीन महिने मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेर सांसद पद खोस्यो। पाँच वर्षका लागि सांसद बनेका उनी साढे तीन वर्षमा नै पदविहीन बने।

अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। 

२०४३ मा अनेरास्ववियु छैटौँको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग (वाईसीएल), नेपालको संस्थापक अध्यक्ष भएका थिए।

२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए। 

नेकपा (माओवादी) ले सशस्त्र युद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने। २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिव बनेका थिए।

तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन्। 

२०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उनी माओवादीबाट उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बने।

त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए।

जितेपछि उनले नेपालखबरसँग भने, ‘मैले ०७० को त्यो माहोलमा त चुनाव जिते, अहिले त यत्रो काम गरेको थिएँ, त्यसमाथि एमालेको संगठन पनि राम्रो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .