ad ad

राजनीति


सी भ्रमणलाई लिएर रवीन्द्र मिश्रको सुझाबः प्रोटोकलको ख्याल गरौँ, झ्वाम्लंगै अँगालो नहालौँ

सी भ्रमणलाई लिएर रवीन्द्र मिश्रको सुझाबः प्रोटोकलको ख्याल गरौँ, झ्वाम्लंगै अँगालो नहालौँ

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १०:२४,

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणका सन्दर्भमा प्रोटोकलको ख्याल गर्न सुझाब दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक मिश्रले विगतमा जस्तो प्रोटोकल बिर्सेस झ्वाम्लंगै अंगालो नहान्न सुझाब दिएका हुन्।

उनले राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँमा छोटो समययमै जुन परिवर्तन भयो सरकारको ईच्छाशक्ति नहुँदा दुई वर्षसम्म पनि सो काम हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न समेत उठाएका छन्।

चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेको भन्दै ती पुराना अनुभवबाट सावधान हुन समेत सचेत गराएका छन्।

उनले सीलाई हृदयदेखि नै स्वागत गर्नुपर्ने भन्दै पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ ढंगबाट परिपक्व कुटनीतिको अभ्यास गर्न समेत सुझाब दिएका छन्।

यस्ता छन् मिश्रका ८ बुँदे सुझाब

१. राष्ट्रपति सी चिनफिङलाई हृदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौँको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काईरहेको हुनुपर्छ। दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोशिस गरेको भए शहरको सौन्दर्य कति दिगो हुने थियो। शहरको मुहार दिर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘श्रृंगार’ थप्ने गरौँ। नत्र सधैँ ‘फेर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था सिर्जना हुन्छ।

२. बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लंगै अंगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौं।

३. बढी आशावादी भएर हाम्रो वैदेशिक नीतिमा सम-निकटता (equi-proximity) को दीर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सौं ।

४. बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चीन र भारत दुबैको लागि बढेको प्रष्टै देखिएको छ। यो चुनौती र अवसर दुबै हो। पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ ढ‌ंगबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ।

५. सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि बैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ। हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धि नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौं। राष्ट्रपति सीको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका संझौताहरू लामो समयसम्म अलपत्र पर्नेछन् ।

६. चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेका छन्। ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ। यसमा ख्याल गरौँ ।

७. चीनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्‍याउने छ। तर, त्यो हाम्रो कुटनीतिस्तरमा भर पर्नेछ ।

८. भारत र चीन जसरी विकशित भइरहेका छन्, त्यसको बीचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुन सक्छस् पहिलो, ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने। दोस्रो, भ्रष्ट, अपरिपक्व र स्वार्थ केन्द्रित राजनीतिद्वारा नेपाललाई शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौती त्यही नै हुनेछ।

भ्रमण पूर्णरूपमा सफल रहोस्, नेपाल-चीन सम्बन्ध प्रगाढ र उपलब्धिमूलक होस् !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .