राजनीति


दशैँको मुखमा पेप्सीका कामदार पुनः आन्दोलनमा

दशैँको मुखमा पेप्सीका कामदार पुनः आन्दोलनमा

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ५:५७,

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले शुक्रबारबिहानदेखि धर्ना दिएका छन्।

विभिन्न नौ बुँदे मागसहित विगत छ महिनादेखि शान्तिपूर्ण संंघर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन्। पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको संघर्ष समितिका संयोजक रमेश गौतमले बताए।

सो उद्योग बहुराष्ट्रिय कम्पनी पेप्सीको एक शाखा उद्योगको रुपमा रहेको छ। काठमाडौँ पेप्सीकोलापछिको पेप्सी कम्पनीको दोस्रो उद्योगको रुपमा बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) यस स्थानमा रहेको छ। श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलन गर्दै आए पनि उद्योग पक्षले आफ्ना मागहरुप्रति बेवास्ता गरेको भन्दै पुनःआन्दोलनमा उत्रिएको संयोजक गौतमको भनाइ छ। चरणबद्ध आन्दोलन गर्दै आएका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन्।

नियुक्तिपत्रबिनै काममा राखिएको भन्दै दैनिक ज्यालादारी कामदारले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तिपत्र दिएर मात्र काममा राख्न कम्पनीसक्षम माग गर्दै आएका छन्। ‘विगत पाँच महिनादेखि नै यहाँ कार्यरत हामी दैनिक ज्यालादारीमा कार्यरत श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन गरेको छ । तर पनि प्रशासनले कामदारको पक्षमा वकालत गरेको छैन’, मजदुर अगुवा हरि भण्डारीले बताए।

भण्डारीका अनुसार पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन। दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले कामदार आपूर्ति कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ।

निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधैँ नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका कामदारले माग राखेका छन्।

उद्योगमा विशेषगरी मजदुरको सङ्ख्या अधिकांश नेपाली छ भने अन्य अधिकांश कर्मचारीको सङ्ख्या भारतीय रहेका छन्। उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत छन्। जसमध्ये करीब ३०० को सङ्ख्यामा दैनिक ज्यालादारीमा काम गर्ने कामदार छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad