ad ad

राजनीति


सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

नेपालखबर
असोज १३, २०७६ सोमबार १५:८,

सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। तीनकुनेस्थित कोठामा आएर उनले आइतबार राति मदिराले मातेको सुरमा दुर्व्यवहार गरेको ती महिलाको दाबी छ।

मदिराले मातेर कुटपिट गरी आफूलाई सभामुखले जर्बजस्ती गरेको उनको आरोप छ। महराको पिटाइबाट शरीरमा निलडाम समेत लागेको उनले उल्लेख गरेकी छिन्।

सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोल्पा स्थायी ठेगाना भएकी हुन्। सभामुखको पनि स्थायी ठेगाना रोल्पा नै हो।

मैले नै पढाको हुँ: महरा
सभामुख महराले ती महिलालाई आफूले नै हुर्काइ, पढाइ गरेको दाबी गरेका छन्।

‘मैले उनलाई २०४७ सालदेखि चिन्छु। मैले नै हुर्काइ, पढाइ गरेको हुँ। उनका पति मेरा साथी हुन्’, महराले नेपालखबरसँग भने, ‘घटना त्यस्तो विल्कुल होइन। समायोजनमा बाहिर फालिँदाको रिस ममाथि पोखेकी हुन्।’

केही समयअघि सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको समायोजन गरेको थियो। त्यसमा ती महिला काठमाडौं बाहिर परेको महराको दाबी छ।

‘लालबाबुले गर्ने काम मैले कसरी मिलाउनु, त्यसपछि उनले रिस फेर्ने काम गरेकी हुन्’, उनले भने।

सभामुख राज्यको सम्मानित पद हो। राज्यको बरियताक्रममा यो पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीशपछि पाँचाैं नम्बरमा छ।

पहिलैदेखि नै थियो आउजाउ
सभामुख महरा र ती महिलाका श्रीमान् साथी हुन्। श्रीमानको मित्र भएका कारण महरा महिलाको डेरामा आउने–जाने गरिरहन्थे। त्यही क्रममा आइतबार साँझ दुर्व्यवहारको शिकार भएको महिलाको दाबी छ।

ती महिलाले घटनापछि प्रहरीलाई खबर गरेपछि महरा कोठाबाट बाहिरिएको दाबी गरेकी छन्। महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर (तीनकुने) बाट केही समयपछि प्रहरी टोली आफ्नो कोठामा आइपुगेको र फोटो–भिडियो खिचेको उनले बताएकी छन्।

नेपालखबरले सोमबार साँझ वानेश्वर प्रहरीलाई फोन गरी घटनाबारे बुझ्न प्रयास गरेको थियो। प्रहरीले सभामुखको नाम लिनासाथ सजगतापूर्वक रेस्पोन्स गर्यो। बारम्बार जाहेरी नपरेको मात्र दोहोर्यायो।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार साँझ विज्ञप्ती जारी गरी ‘कठपुतली तयार गरी सामाजिकरुपमा बदनाम गर्ने दुस्प्रयास’ भएको भन्दै त्यसमा कुनै सत्यता नभएकोले भ्रममा नपर्न अपील गरेका छन्।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लको विज्ञप्तिको पूर्णपाठ
सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चारमाध्यममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ। यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिँदैन। हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्रहत्या गर्ने दुस्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु। सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु। साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसङ्ग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो। तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए। सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुःखित र आश्चर्यचकित हुनुभएको छ।

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्धरुपमा भइरहेको छ। यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन। उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिकरुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ। सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु।

डिल्ली मल्ल
सभामुखज्यूको प्रेस सल्लाहकार
मितिः २०७६।०६।१३

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .