ad ad

राजनीति


झलनाथको विज्ञप्तिले सतहमा ल्याएको नेपाल-खनाल समूहभित्रको अविश्वास

झलनाथको विज्ञप्तिले सतहमा ल्याएको नेपाल-खनाल समूहभित्रको अविश्वास

नेपालखबर
असार ४, २०७८ शुक्रबार १०:१७,

पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि बुधबार भारतको राजधानी दिल्लीतर्फ उड्दै गर्दा उनको नाममा एक विज्ञप्ति जारी भयो। जसमा उनले बदलाभाव त्यागेर पार्टीलाई एक राख्न दुवै पक्षसँग आह्वान गरेका थिए।

विज्ञप्तिको भाव र प्रयोग भएको शब्दलाई लिएर एमालेभित्रको माधवकुमार नेपाल–झलनाथ खनाल समूहमा आरोप–प्रत्यारोप चुलियो।

खनालसँगकै परामर्शमा एमालेका सचिव भीम आचार्यले विज्ञप्तिको मस्यौदा गरेका थिए। त्यसलाई खनाल आफैँले समय लगाएरै सम्पादन गरेका थिए। खनालको हस्ताक्षर भएको विज्ञप्ति खनालकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको थियो।

तर, नेपालनिकट नेता जगन्नाथ खतिवडाले फेसबुकमा ट्याट्स लेख्दै खनालको विज्ञप्तिमा चलखेल भएको भएको आरोप लगाए।

खनाल दिल्लीतर्फ प्रस्थान गरेपछि मात्रै विज्ञप्ति जारी भएको र विज्ञप्तिका शब्दहरुले खनालको भावनाको प्रतिनिधित्व नगर्ने उनको धारणा थियो। अर्का नेता डा. विजय पौडेलले पनि खनालको नाममा अरु कसैले विज्ञप्ति निकालेर फट्याइँ गरेको आरोप लगाएका छन्।

‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन्। यस्तो फट्याइँ नगरेको बेस,’ ट्विटरमा उनले लेखेका छन्।

विवाद बढ्दै गएपछि नेता खतिवडाले फेसबुक स्ट्याटस डिलिट गरे र पौडेलको भने अहिले पनि कायम छ।

यो प्रकरणले नेपाल–खनाल समूहभित्र एकअर्काप्रति रहेको अविश्वास र शंकालाई उजागर गरेको छ।

‘विज्ञप्तिको भाषालाई लिएर ओली समूहले पनि खनाल आफ्नो पक्षमा आएको भन्दै प्रचार गर्न खोज्यो,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘त्यसमा हाम्रो पक्षका साथीहरु कसरी आयो भन्ने नबुझी अलि बढी नै प्रतिक्रियात्मक हुनु भयो। त्यसले समूहभित्र अविश्वास उत्पादन गर्ने काम हुने नै भयो।’

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विधिम्मत रुपमा पार्टी र सरकार नचलाएको भन्दै नेपाल–खनाल समूहले विरोध गरिरहेको छ।

खनाल र नेपाल एमालेको नवौँ महाधिवेशनदेखि नै अहिलेसम्म करिब करिब एकैस्थान रहेका छन्। उनीहरुले समानान्तर संगठन बनाउने र गतिविधि गर्दै आएका छन्। त्यसलाई निस्तेज पार्न ओलीले विभिन्न प्रयासहरु गर्ने गरेका छन्।

अध्यक्ष ओलीले नेपाल र खनाल निकट नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्ने छन्। पछिल्लो चरणमा ओलीले नेपालसँग नजिक रहेका भन्दा पनि खनालसँग निकट नेताहरुसँग छलफललाई अघि बढाएका छन्।

जसले नेपाल–खनाल निकट रहेका नेताहरुबीच अविश्वास बढाएको छ। त्यसैगरी खनालनिकट दोस्रो पुस्ताका नेताहरुको जोड पार्टी विभाजनमा नरहेको भन्ने धारणाले पनि अविश्वासलाई मलजल गरेको छ।

नेपाल–खनाल समूहमा रहेका केही नेताहरु अनौपचारिक कुराकानीमा पछिल्लो समयमा आफ्नो समूहका केही नेताहरुको झुकाव ओलीतर्फ भएको र खनालको विज्ञप्तिमा प्रयोग गरिएको भाषा पनि त्यसैको परिणाम भएको बताउँछन्।

नेता युवराज ज्ञवाली भने यस विषयमा केही मतान्तर भएपनि सबै नेताहरु मुद्दामा एक स्थानमै रहेको दाबी गर्छन्।

‘झलनाथ खनाल कमरेडको विज्ञप्तिको विषयमा केही मिसअन्डरस्ट्यान्डिङ देखिएको हो। त्यो खासै ठूलो विषय होइन। उपचार गर्न जाने मानिसले यस्तो संदेनशील अवस्थामा रहेको पार्टी मिलाउनु भन्नु स्वभाविक हो। हामी सबै पार्टी एक होस् भन्नेमै छौँ,’ ज्ञवालीले भने, ‘बाहिर हल्ला चलेको जस्तो कुनै समस्या छैन।’

एमालेभित्रको विवाद विभाजनको विन्दुमा पुगेको छ। तर, खनाल–नेपाल समूहमा रहेका कतिपय नेताहरुले जेठ २ को विषयमा सहमति भएपनि नयाँ दलमा आफूहरु नजाने सार्वजनिक रुपमा बताउँदै आएका छन्। योगेश भट्टराई र भीम आचार्यले सार्वजनिक रुपमा यस्तो धारणा राख्दै आएका छन्। पछिल्लो समयमा ओलीसँग नजिकिएको आरोप लाग्दै आएका आचार्यमाथि नेपालनिकट नेताहरु खनिएका थिए।

खनालको विज्ञप्तिमा राखिएका कतिपय शब्द ओली पक्षले नेपालमाथि आरोप लगाउँदा प्रयोग गर्ने शब्द छन्।

‘जसले यो मस्यौदा गर्नुभयो। उहाँ प्रयोग हुनुभयो,’ एक केन्द्रीय सदस्य भने।

ओली पक्ष आफूहरुलाई फुटाउन लागिपरेको ज्ञवाली बताउँछन्।

‘अन्तिमसम्म प्रयास गर्ने हो र त्यसमा सम्भव भएन भने मात्रै नयाँ खोल्ने भन्ने हो। अलग पार्टी खोल्ने हाम्रो इच्छा होइन,’ ज्ञवालीले भने, ‘केहीलाई आफ्नो पक्षमा पार्ने कोसिस केपी कमरेडले गरिरहनु भएको छ। तर त्यो सम्भव छैन। केहीलाई फुटाएर ल्याउन सकिन्छ भन्ने प्रयासमा हुनुहुन्छ। जेएन खनाल र माधवकुमार नेपाल बिनाको एकीकरणको कुनै अर्थ छैन। २–४ जना आउने जाने भइरहन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .