राजनीति


दस्तावेज लेखिरहेका प्रचण्डलाई कार्यकर्ताको सुझावः दुइटा महाधिवेशन गरौँ

दस्तावेज लेखिरहेका प्रचण्डलाई कार्यकर्ताको सुझावः दुइटा महाधिवेशन गरौँ

सागर न्यौपाने
असार ३, २०७८ बिहिबार १६:१,

अदालतको फैसलाबाट ब्युँतिएको नेकपा माओवादी केन्द्रको आगामी कार्यदिशा स्पष्ट पार्नेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दस्तावेज लेखनमा लागेका छन्।

२०७७ फागुन २३ गते सर्वाेच्च अदालतले एमालेसँगको एकता भंग गरेपछि माओवादी केन्द्र ब्युँतिएको थियो।

माओवादीका एक नेताका अनुसार प्रचण्डले पूर्ण दस्तावेज ल्याउने तयारी गरिरहेका छन्। जसमा पार्टीको वैचारिक लाइन, राजनीतिक कार्यदिशा र सांगठनिक संरचनाबारे व्याख्या हुने उनले बताए।

‘आगामी कार्यदिशा, संगठनात्मक संरचना, पार्टीको कार्यक्रम, विगतको समीक्षा, संगठनात्मक संरचना र नेतृत्व प्रणाली लगायत विषयमा पूर्ण डकुमेन्ट लेख्ने काम भइरहेको छ,’ प्रचण्डको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।

केन्द्रीय सदस्यहरुसँगको भर्चुअल बैठकमा प्रचण्डले यसपटक पार्टीको कार्यदिशा र वैचारिक लाइन प्रष्ट पारेर दस्तावेज ल्याउने बताएका थिए।

प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी गरेको भन्दै २०७८ जेठ २ गते इमेलमार्फत् सुझाव मागेका थिए।

नेता÷कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले सुझाव माग गरेको उनको भनाइ छ।

माओवादी केन्द्र बनेदेखि अहिलेसम्म पार्टीको कार्यदिशा र वैचारिक लाइनबारे प्रष्ट नभएको आवाज कार्यकर्ताले उठाउँदै आएका थिए।

‘उहाँ एक महिनादेखि पार्टीको दस्तावेज लेखनमा लागिरहनुभएको छ,’ प्रचण्डको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘अचेल भेटघाट पनि कम गरेर त्यसमै लाग्नुभएको छ।’

अहिलेसम्म प्रचण्डलाई इमेलबाट १८ सय सुझाव आएका छन्। यस्तै उनको आधिकारिक फेसबुक पेजमा झण्डै ५ सय सुझाव आएको उनको सचिवालयले जनायो।

प्रचण्डले प्राप्त सुझावलाई आफैँले अध्ययन गरिरहेको सचिवालयका ती सदस्यले बताए।

प्रचण्डले पार्टीका केन्द्रीय सदस्यलाई भने सुझाव दिन सर्कुलर नै पठाएका थिए। जसमा उनले केही प्रश्न सोधेका थिएः

– पार्टी कमिटी निर्माण गर्दा मूल्यांकनको विधि अपनाउने कि निर्वाचनको?
– उमेर हद राख्ने कि नराख्ने? राख्ने भए कति राख्ने?
– कुनैपनि पदमा रहेको व्यक्तिको कार्यकालको कार्यअवधि तोक्ने कि नतोक्ने?
– तोक्ने भए कति वर्षको राख्ने?
– उत्पादनमा नेताहरुलाई कसरी जोड्न सकिन्छ?
– एमालेसँग एकता गर्दा के के कमजोरी भयो?

यी प्रश्नमा स्थानीय तहका नेताहरुले जिल्ला हुँदै प्रदेश कमिटीमार्फत र विभिन्न जनवर्गीय संगठनका नेताहरुले सीधै इमेल वा भेटेरै लिखित सुझाव दिएका छन्।

बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालका अनुसार पार्टी निर्माण, नाम, कार्यदिशा लगायतका विषयमा सुझाव दिइएको बताए।

एमालेसँगको एकता भंग भएपछिको अवस्थाबारे पनि सुझाव आएका छन्।

‘माओवादी मात्र होइन, सबै क्रान्तिकारीहरुको बृहत् एकता गरेर पार्टी निर्माण गर्नुपर्छ भन्ने पनि सुझाव आएका छन्,’ दाहालले नेपालखबरसँग भने, ‘समाजवादी क्रान्तिका पक्षधरबीच एक हुनुपर्छ भन्ने धेरैको मत छ।’

पार्टीको नाम
धेरैजसोले प्रचण्डलाई पार्टीको नाम फेर्न सुझाव दिएको दाहालले बताए। केहीले माओवादी केन्द्र नै राख्नुपर्ने बताएका छन्।

‘नाम बदलेर जाऊँ, कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी वा कुनै नाम राख्नुपर्छ भन्ने सुझाव छ,’ उनले भने।

एक व्यक्ति एक पद
एक व्यक्ति एक पद लागू गर्नुपर्छ भन्ने सुझाव पनि आएका छन्।

नेकपामा हुँदा प्रचण्ड–माधवकुमार नेपाल समूहले यो मुद्दा उठाएको थियो। माओवादी केन्द्रमा पनि त्यो व्यवस्था लागू हुनुपर्ने कार्यकर्ताको मत छ।

अधिकांशले उमेर हद भने नराख्न सुझाव दिएका छन्।

पुस्ता समायोजन
माथिदेखि तलैसम्म पुस्ता समायोजन गर्न कार्यकर्ताले प्रचण्डलाई आग्रह गरेका छन्।

नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने, सबै क्षेत्र र निकायमा समावेशी कमिटी बनाउनुपर्ने सुझाव छ।

पार्टी संस्थागत भएन
पार्टी संस्थागन नहुँदा समस्या आएको कार्यकर्ताले गुनासो गरेका छन्।

‘प्रणालीबाट पार्टी बनाउनुप¥यो। प्रणालीबाट चलेन, संस्थागत भएन हाम्रो समस्या नै त्यही भयो भन्ने आएको छ,’ दाहालले भने।

पार्टी एकता
बृहत् वाम एकताको सुरुवात पूर्व माओवादीबाट गर्न कार्यकर्ताले प्रचण्डलाई सुझाएका छन्।

‘डा.बाबुराम भट्टराई, मोहन वैद्य लगायतबीच एकता गर्नुपर्छ नत्र माओवादी धारा कमजोर भयो भने बृहत् पार्टी बन्यो भने पनि गाह्रो हुन्छ,’ प्रचण्डलाई दिइएको सुझावमा भनिएको छ।

वर्ग बिर्सिनुभएन
माओवादीले वर्गीय मुद्दालाई बिर्सेको गुनासो कार्यकर्ताले गरेका छन्। सबै तहमा उत्पादनको योजना लैजानुपर्ने, उत्पादन, उपार्जन र आत्मनिर्भरतासँग नेता कार्यकर्तालाई गाँस्न पनि सुझाव दिएका छन्।

श्रमिकका मुद्दालाई ख्याल गर्न र अमूर्त होइन, व्यवहारिक योजना ल्याउन उनीहरुले प्रचण्डलाई भनेका छन्।

संसदीय प्रणालीको विकल्प चाहियो
प्रचण्डलाई दिइएको सुझावमा संसदीय प्रणाली हो कि अरु केही अवलम्बन गर्ने हो भनेर प्रश्न पनि सोधिएको छ।

‘यही गोलचक्करमा रमाउने हो भने संसदवादमा हराइन्छ, त्यहाँबाट निस्कने हो भने हाम्रो पार्टीले के प्रणाली अपनाउने प्रष्ट पारेर जानुपर्छ,’ कार्यकर्ताले भनेका छन्।

नेतृत्वको प्रश्न
सबै कुरा प्रचण्डमुखी, प्रचण्डकेन्द्रित भएको र प्रचण्डले गरे हुने, नभए नहुने स्थिति आएको कार्यकर्ताको गुनासो छ।

‘यसको अन्त्य गरौँ। प्रचण्ड मुख्य नेता हो, तर दैनिक काम गर्नसक्ने टिम त तयार पार्नुप¥यो। अहिले पार्टीमा त्यो ठूलो कमजोरी छ,’ उनीहरुले भनेका छन्।

दुई वटा महाधिवेशन प्रस्ताव
प्रचण्डलाई दिइएको सुझावमा दुई वटा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ। केही प्रदेश र जिल्लाले सो सुझाव पठाएको एक नेताले जानकारी दिए।

माओवादी केन्द्रको कार्यदिशा, समाजवादबारेका जिज्ञासा हल गर्न वैचारिक महाधिवेशन गर्ने र त्यही थुप्रै विषयमाथि बहस गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने सुझावमा उल्लेख छ।

वैचारिक संकट अन्त्य गर्दै पार्टीको आगामी यात्रा सहज बनाउन पनि वैचारिक महाधिवेशन आवश्यक रहेको कतिपय नेताहरुले सुझाव दिएका छन्।

नेकपा माओवादीले चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको एजेन्डा पास गरेको थियो। त्यसपछि माओवादीले अहिलेसम्म पार्टीको कार्यनीति प्रष्ट ल्याउन सकेको छैन।

त्यसपछि संगठनात्मक महाधिवेशन गर्नुपर्ने उनीहरुको सुझाव छ।

यसबाट नेतृत्वको प्रश्न, पार्टी कस्तो बनाउनेलगायतका प्रश्न हल गर्ने उनीहरुको भनाइ छ।

‘खालि लेलिनवादी संगठनात्मक सिद्धान्त मात्र भनेर अब लक्ष्यमा पुग्न सकिँदैन, २१ औँ शताब्दीको कम्युनिस्ट पार्टीको संगठन कस्तो हुन्छजस्ता प्रश्नको हल गर्न संगठनात्मक महाधिवेशन छुट्टै गर्नुपर्ने सुझाव छ,’ ती नेताले भने।

दोस्रो पुस्ता नै गुट बनाउन सक्रिय
दोस्रो पुस्ताका नेताहरु गुटमा लागेको गुनासो पनि कार्यकर्ताले गरेका छन्।

‘स्थायी समितिका नेताहरु को प्रचण्डसँग नजिक हुने र कसले भजाएर धेरै खाने भन्ने होडबाजीले पार्टी छोड्ने क्रम बढ्यो,’ सुझाव उधृत गर्दै एक नेताले भने।

प्रचण्डप्रति गुनासो
कार्यकर्ताले प्रचण्डप्रति थुप्रै गुनासो गरेका छन्। उनीहरुले पर्याप्त बहस नगरी पार्टी एकता गरेको आरोप लगाएका छन्। एकता नगरी एमालेसँग तालमेल मात्रै गरेको भए ठिक हुने धेरैको राय छ।

प्रचण्डले फेसबुकबाट मागेका सुझावमा ३३ सयले प्रतिक्रिया दिएका छन्।

माओवादी केन्द्रले सर्वाेच्चको फैसलालगत्तै फागुन २६ गते संगठनात्मक संरचना अध्ययनका लागि वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सम्मिलित कार्यदल बनाएको थियो।

कार्यदलले देशभरिकै पार्टी कमिटी, जनवर्गीय संगठनलगायतको अवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गरेको छ।

प्रचण्डले दस्तावेजमा त्यसलाई समेत समेट्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .