ad ad

राजनीति


एमालेका दुई पक्षबीच प्रदेशस्तरमा हुन थाले सहमति

एमालेका दुई पक्षबीच प्रदेशस्तरमा हुन थाले सहमति

मणि दाहाल
जेठ ३०, २०७८ आइतबार १६:२६,

नेकपा एमालेका दुई पक्षबीच केन्द्रमा संवाद ठप्प भएको बेला प्रदेशस्तरमा भने सहमतिको प्रयास सुरु भएको छन्।

एमालेका दुवै पक्ष मिलेर प्रदेश नम्बर एक, लुम्बिनी प्रदेश र बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेका छन्।

आफूहरुले केन्द्रलाई पनि मिल्न सन्देश दिएको प्रदेशका नेताहरुले बताएका छन्। बागमती प्रदेशसभा सदस्य तथा माधवकुमार नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले दुवै पक्षबीच सहमतिका साथ नीति तथा कार्यक्रम अघि बढाउने प्रयास भएको बताइन्।

‘केन्द्रमा पछि के हुन्छ, पछिकै कुरा भयो। अहिले प्रदेशमा हार्दिकता बढाऔँ, मिलेर जान सकिने विषयमा मिलौँ भन्ने नै हो,’ शाक्यले भनिन्, ‘पार्टी सबैथोक कमजोर हुने अवस्थामा पुग्यो। अहिलेसम्म मन र दृष्टिकोण फराकिलो भएन। कम नोक्सान हुने गरी कसरी जाने भन्ने छ।’

नेकपा हुँदा शाक्यकै नेतृत्वमा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए। एमाले र माओवादी केन्द्र विभाजित भएपछि प्रस्ताव फिर्ता गरिएको थियो।

‘केन्द्रमा पार्टी अलगअलग भएको अवस्था छ। परिस्थिति जटिल बन्दै गएको छ। सत्ता पनि जथाभावी सञ्चालन गरेर लोकतन्त्र, गणतन्त्र र आन्दोलन कमजोर बनाउन खोजिएको छ,’ शाक्यले भनिन्, ‘बागमती प्रदेशमा झगडा गरेर छिन्नभिन्न हुनुभन्दा, लोकतन्त्र, गणतन्त्र, पार्टी जोगाउनु पर्‍यो। देशमा यत्रो संकट आएको छ। हामी आपसमा झगडा गरेर जोगाउने कसले? झगडा गरेर सकिने बाहेक केही हुँदैन।’

शाक्यले आफूहरु पछि हटेको नभई दुवै पक्ष अब मिल्नु पर्छ भन्ने अवस्थामा पुगेको बताइन्। शाक्यका अनुसार दलभित्र कोभिडलाई प्राथमिकतामा राखेर सरकारले बजेट निर्माण गर्ने, सबै निर्वाचन क्षेत्रमा समानुपातिक प्रणालीमा बजेट विनियोजन गर्ने विषयमा सहमति भएको बताइन्।

नीति तथा कार्यक्रम पारित गर्नुअघि मुख्यमन्त्री पौडेल शाक्यबीच छलफल भएको थियो।

पौडेलले शाक्यसहितका सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए। तर, उनीहरुलाई कारबाही गर्न आवश्यक नभएको भनी लेखेर पठाउने, समानुपातिक रुपमा बजेट विनियोजन गर्ने र नेपाल पक्षका नेताहरुलाई पनि समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमति भएको नेपाल पक्षको दाबी छ।

‘केन्द्रमा अहिले संवाद सफल भएको छैन। तर दोस्रो तहका नेताहरु लागिरहनु भएको छ। अहिले केन्द्रभन्दा प्रदेशमा मिल्न सकिने विषयहरुमा छलफल भइरहेको छ,’ एमालेका एक नेताले भने, ‘नेपाल पक्षले चाह्यो भने प्रदेश नम्बर १ र बागमतीमा प्रदेशमा सरकारलाई अप्ठेरो पार्नसक्छ। मिल्न सक्ने विषयमा संवाद गरौँ भन्ने नै छ।’

प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले पनि एमालेलाई एकताबद्ध बनाउन बागमती र प्रदेश नम्बर एकमा सहमतिको विषय एक कदम अघि बढेको बताए।

कार्कीले केन्द्रका नेताहरुलाई एकएक कदम पछि हट्नका लागि आह्वान गरेका छन्।

‘हामी हिजो बागमती र आज प्रदेश १ बाट एक/एक कदम अघि बढ्यौँ। आदरणीय नेतृत्ववृन्द अब तपाईंहरु पनि आ–आफ्ना अडानबाट एक/एक कदम पछि हटने कि?’ कार्कीले ट्विट गरेका छन्।

नेपाल पक्ष बलियो रहेको प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राई नै असन्तुष्ट नेताहरुसँग संवादमा छन्।

राईको सचिवालयका एक सदस्यका अनुसार उनी भीम आचार्य, राजेन्द्र राई, जीवन घिमिरेसहितका नेताहरुसँग सम्पर्कमा छन्।

‘निरन्तर रुपमा छलफल भइरहेको छ। प्रत्यक्ष रुपमा भेट नभए पनि मुख्यमन्त्री राईले नेपाल पक्षका नेताहरुसँग टेलिफोनमा छलफल गर्नु भएको छ,’ राईको सचिवालयका एक सदस्यले भने।

एमालेको विवाद चर्किंदै गर्दा त्यसको फाइदा कांग्रेस र माओवादीले लिँदै आएका छन्। एमाले विवादकै कारण कर्णाली र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको सरकार जोगिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .