राजनीति


सत्तामा गएसँगै महन्थ ठाकुर पक्षमा खटपट

सत्तामा गएसँगै महन्थ ठाकुर पक्षमा खटपट

प्रशान्त लामिछाने
जेठ २६, २०७८ बुधबार १५:२३,

१० मन्त्रालय लिएर सरकारमा गएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षभित्र खटपट सुरु भएको छ।

२० नेताको साथ लिएर अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध विच्छेद गर्न कस्सिएका ठाकुरले केही प्रभावशाली नेतालाई मन्त्री नबनाएको भन्दै उनलाई साथ दिने नेताहरुमा असन्तुष्टि बढ्दै गएको नेताहरुले बताएका छन्।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी भएको थियो।

पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई नेतृत्वको समूह छाडेर अर्का अध्यक्ष ठाकुर पक्षतर्फ लागेका २ जना मन्त्री र एकजना राज्यमन्त्री बनेका छन्।

विमल श्रीवास्तव श्रम तथा रोजगारमन्त्री, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेकी छन्।

तर, रुही नाज, कलुदेवी विश्वकर्मालगायत अन्य केही चर्चामा रहेका नेतालाई मन्त्री नबनाएपछि ठाकुरसँग उनीहरु रुष्ट बनेका हुन्।

उनीहरुले भक्तपुरको डोलेश्वरमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउन हस्ताक्षरसमेत गरेका थिए।

उनीहरुलाई मन्त्री बनाउने अफर गरिएको स्रोतले जनाएको छ।

तर, मन्त्री नबनाइएपछि उनीहरु अहिले तटस्थ रहेको प्रतिक्रिया दिन थालेका छन्।

रुही नाजले बुधबार आफू कुनै पक्षमा नरहेको बताइन्।

‘हिजो को कहाँ थियो छोडिदिनुस्,’ उनले नेपालखबरसँग भनिन्, ‘म कुनै पक्षमा छैन। अरु साथीहरु मन्त्री हुनु भयो। म त्यो दौडमा छैन।’

मन्त्री बन्ने चर्चामा रहेका अर्का नेता हुन्, राजकिशोर यादव।

पूर्वराजपाबाट आएकामध्ये महन्थबाहेक अरु वरिष्ठ नेताहरु मन्त्री भएका छन्।

महेन्द्रराय यादव अहिले उपेन्द्र पक्षमा छन्।

राजकिशोर यादव डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री थिए।

ठाकुरनिकट नेताहरुका अनुसार जसपा विवादमा मझधारमा देखिएका उनी मन्त्री बन्ने भनी लगभग निश्चित गरिएको थियो।

मन्त्री बन्ने सूचीबाट उनको नाम अन्तिम समयमा हटेको नेताहरु नै बताउँछन्।

त्यसपछि राजकिशोर नेताहरुसँग सम्पर्कमा समेत आउन चाहेका छैनन्।

शनिबार बबरमहलमा जसपाबाट नियुक्त मन्त्रीलाई बधाई दिने कार्यक्रममा पनि यादव अनुपस्थित रहे।

‘शुक्रबार जसपाका मन्त्री सरकारमा जाने दिन पनि उहाँ वरिष्ठ नेता अशोक राई लगायतसँग छलफलमै हुनुहुन्थ्यो,’ एक नेताले भने, ‘ठाकुरजीको निर्णयले उहाँलाई आश्चर्यमा पारेको थियो।’

त्यसो त मन्त्री बन्न नपाए पनि उनी पार्टी एकताकै प्रयासमा रहेको उनीनिकट नेताहरुको दाबी छ।

‘उहाँको अहिलेको लाइन पनि एकताको हो,’ ती नेताले भने, ‘बुबाको निधनका कारण सक्रिय हुन पाउनुभएको छैन।’

यस विषयमा राजकिशोर आफैले भने कुनै प्रतिक्रिया दिन चाहेनन्।

ठाकुर पक्षबाट मन्त्री बन्ने चर्चामा रहेका अर्का नेता थिए प्रमोद साह।

ठाकुर र महतो दुबैका विश्वासपात्र उनी १० जना मन्त्री बनाउँदा पनि अटाएनन्।

त्यसकारण उनी असन्तुष्ट रहेको नेताहरु बताउँछन्।

‘मन्त्री बनाउने विषय नेतृत्वको विवेकको कुरा हो,’ साहले छोटो प्रतिक्रिया दिए।

सर्लाही–१ बाट निर्वाचित साह मंगलबार गृहजिल्ला पुगेका छन्।

असन्तुष्ट पक्षसँग उपेन्द्र यादव–बाबुराम भट्टराई समूह छलफलमा रहेको स्रोतले जनायो।

पार्टीको कार्यकारिणी समितिमा बहुमतमा रहेको सो पक्षले ठाकुरबाट असन्तुष्ट भएकालाई आफूतिर तान्ने प्रयास जारी राखेको छ।

उपेन्द्र पक्षले राजकिशोर यादव, प्रमोद साह लगायतका नेताहरुसँग विभिन्न माध्यमबाट कुराकानी गरिरहेको स्रोतको दाबी छ।

जसपा कार्यकारिणी सदस्य गंगा श्रेष्ठले त्यसलाई पुष्टि गरे।

‘पार्टीमा एकता पक्षधर साथीहरु धेरै हुनुहुन्छ’, श्रेष्ठले भने, ‘विभाजन गर्न खोज्नेहरुसँग असन्तुष्ट भएपछि संस्थापनसँग छलफल हुनु र भेटघाट हुनु स्वभाविक हो।’ को–कोसँग भेट भएको छ भन्ने उनले खुलाउन चाहेनन्।

ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएसँगै जसपा विभाजन भइसकेको छ।

उपेन्द्र पक्षले ठाकुरसहित महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारबाही गर्दै दल दर्ताको विवरण सच्याउन जेठ १९ गते पत्राचार गरेका थिए।

यादव पक्षले ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगमा बुझाएको छ।

एक जना दानबहादुर विक उपस्थित हुन नसकेपछि हस्ताक्षर छुटेको छ।

५१ सदस्यीय कार्यकारिणी समितिमा ३१ सदस्य यादवको पक्षमा छन्।

यता जेठ १९ गते ठाकुरले पनि यादवलाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाए। तर उनले कार्यकारिणी समितिको हस्ताक्षर रहेको माइन्युट भने पेस गर्न सकेका छैनन्।

पार्टीका नेतालाई कारबाही गर्दा कार्यकारिणी समितिको बहुमतबाट गर्नुपर्ने व्यवस्था छ।

ठाकुरले मंगलबार आयोगसँग माइन्यूट पेस गर्न १ हप्ताको समय माग गरेका छन्।

ठाकुर पक्षमा रहेका महेन्द्रराय यादवसहित ६ नेता यादव पक्षमा उभिएका छन्।

राष्ट्रिय सभामा ठाकुर अल्पमतमा छन्। राष्ट्रिय सभामा ३ सदस्य रहेको जसपाका २ जना यादव पक्षमा छन्।

प्रदेश २ सरकारमा पनि पूर्वराजपाबाट मन्त्री बनेका रामनरेश राय र नवलकिशोर साह यादव पक्षमा प्रबेश गरेका छन्। राय कार्यकारिणी सदसस्य समेत हुन्।

उपेन्द्र यादव र बाबुराम भट्टराई प्रतिनिधि सभा विघटन गर्ने ओली कदमको विरुद्धमा उभिएका छन्।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन जनाएका छन्।

त्यतिमात्र होइन सर्वाेच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै रिट हाल्न जाने १ सय ४६ सांसदमा उपेन्द्र–बाबुराम पक्षका १२ जना सांसदहरु छन्।

तर जसपाकै ठाकुर पक्ष भने ओलीको कदमलाई साथ दिँदै सरकारमा सहभागी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .