राजनीति


सिद्धबाबाको डाँडा काटिँदैन, सुरुङ बन्छ : उपप्रधानमन्त्री पौडेल

सिद्धबाबाको डाँडा काटिँदैन, सुरुङ बन्छ : उपप्रधानमन्त्री पौडेल

नेपालखबर
जेठ २६, २०७८ बुधबार १०:४८,

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने बताएका छन्।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने स्पष्ट पारेका हुन्।

सिद्धबाबाको डाँडा काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफूलाई सुझावहरु आएको भएपनि आफूले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको बताए।

चुरेको दोहन र उत्खनन्बाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउनको निम्ति सुरुङ मार्गको निर्माण गरिएको पनि उनले बताए।

चुरेको दोहन रोक्ने र खानिजन्य सामग्री त्यहाँबाट नहटाउने मान्यताका साथ सुरुङमार्ग निर्माण भएको मन्त्री पौडेलको भनाई छ।

‘कतिपय व्यक्तिहरुले सिद्धबाबाको डाँडाँसम्म परेर माटो, ढुंगा हटाएर त्यहाँको यात्रालाई सुरक्षित गर्न सकिन्छ भनेर कतिपयले सुझाव नदिएका होइनन्। तर म स्वयम्ले त्यो डाँडाँको खानीजन्य पद्धार्थलाई निष्काशन गर्ने कुराको सख्त विरोध गरे', उनले भने, 'चुरेको संरक्षणको महत्वलाई मैले स्थापित गर्ने पहल गरें। र सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित गर्ने होइन, त्यहाँ सुरुङ मार्गको व्यवस्थित प्रवन्ध गरेर, चुरेको दोहन, उत्खनन्बाट हामिले जोगिनुपर्दछ भन्ने मान्यताका साथ त्यसका निम्ति सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्दैछौँ।’

अर्थमन्त्री पौडेलले बजेट वक्तव्यको बुँदा नं. १९९ मा कहिँ कतैपनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यक रुपमा विवाद निकालिएको बताए।

सरकारले चुरे क्षेत्रमा कुनैपनि प्रकारको हस्तक्षेप गर्न नदिने स्पष्ट पारे। चुरेको संरक्षण गर्ने सरकारको अभिभारा रहेको भन्दै उनले चुरे क्षेत्रबाट केहीपनि उत्खनन् तथा निकासी नगर्ने बताए।

उनले भने ‘बजेट वक्तव्यमा चुरे उल्लेख गरिएको छैन। चुरेबाट उत्खनन् गर्ने भनिएको छैन। हाम्रा यावत् पूर्ववर्ती निर्णयले चुरेमा कुनैपनि प्रकारले हस्तक्षप गर्न नदिने निर्णय गरेको छ। बुँदा नं. १९९ मा चुरेलाई ल्याएर जोड्ने कोसिस भएको छ। चुरेमा हामी कुनैपनि प्रकारको दोहन हुन दिदैँनौ। त्यसको संरक्षण गर्छौ। त्यो हाम्रो अभिभारा हो। एक डोको माटो र एक डोको ढुंगा हामी चुरेबाट उत्खनन् गर्दैनौँ। त्यहाँबाट निकासी गर्दैनौँ।' कोदालो, डोजर लिएर होइन एउटा कुटो लिएर खोस्रिने पनि काम गर्नुहुँदैन भन्ने वर्तमान सरकारको दृढ धारणा हो।’

गैरकानुनी रुपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकुल प्रभाव हुनेगरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य गर्नेलाई कडा कारबाही गरिने पनि बताए। चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गरिने उहाँको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .