नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङको राजनीतिक इतिहास धेरै लामो छैन। उनले आजसम्म प्रत्यक्ष निर्वाचन पनि जितेकी छैनन्। तर उनले राजनीतिमा एकपछि अर्को छलाङ भने हान्दै आएकी छन्।
सामाजिक कार्यमा सक्रिय रहँदै आएकी गुरुङ सुरुमा संघीय समाजवादी फोरमको टोखा नगर कमिटी अध्यक्ष थिइन्।
२०७४ मा भएको स्थानीय निर्वाचनमा फोरमको तर्फबाट उनी टोखा नगरपालिकामा उपमेयरको निर्वाचन लडिन्। तर त्यसमा उनको लज्जास्पद हार भयो।
टोखा नगरपालिकामा उपमेयरमा विजयी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया ढंगोलले ८ हजार ९८ मत ल्याउँदा गुरुङले ९९ मत प्राप्त गरेकी थिइन्। नेपाली कांग्रेसबाट उपमेयरमा प्रतिस्पर्धी रजनी थापाले ८ हजरा ३६ र नेकपा माओवादी केन्द्रका दीपक बानियाँले २४ सय ७४ मत ल्याएका थिए।
९९ सय भोटले उनको राजनीतिक छलाङमा कुनै व्यवधान आएन। संघीय निर्वाचनमा गुरुङलाई फोरमले समानुपातिक सूचिमा राख्यो। उनी समानुपातिकबाट संघीय संसद सदस्यमा निर्वाचित भइन्।
नयाँ शक्ति र फोरम एकता भएपछि समाजवादी पार्टी बन्यो उनी त्यतै लागिन्। त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकतापछि बनेको जनता समाजवादी पार्टीको कुनै प्रभावशाली पदमा नभए पनि उनलाई भाग्यले साथ दिन छोडेन। उनी अहिले पार्टीको काठमाडौं जिल्ला समन्वय समिति सदस्य हुन्।
सरकारलाई हेर्ने दृष्टिकोणमा जसपा दुई धारमा बाँडियो। त्यतिबेला गुरुङ अध्यक्ष उपेन्द्र यादवको पक्ष छोडेर अर्का अध्यक्ष महन्थ ठाकुरको समूहमा लागिन्। स्रोतका अनुसार मन्त्री बनाउने सर्तसहित उनी ठाकुरको पक्षमा लागेकी थिइन्।
ठाकुरले यादव पक्षबाट आफ्नो समूहमा आएकालाई मन्त्री बनाउँदा गुरुङले राज्यमन्त्रीको अवसर प्राप्त गरेकी हुन्।
राजनीतिक छलाङबारे गुरुङलाई प्रश्न गर्दा अहिले आफू पूजामा भएकोले केही बोल्न नसक्ने बताइन्। 'म टोखाको सपनतिर्थमा पूजा गर्दैछु', उनले भनिन्, 'पछि कुरा गरौंला।'
प्रतिक्रिया