नेकपा (एमाले) को दुई पक्षबीच जारी विवाद सुदूरपश्चिममा थप पेचिलो बन्दै गएको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षबीचको विवादले सुदूरपश्चिम प्रदेश सरकार प्रभावित बनेको छ।नेताहरुबीचको विवाद सुदूरपश्चिम प्रदेश सभामासमेत प्रवेश गरेपछि अवस्था पेचिलाे बनेकाे हाे।
शुक्रवारदेखि सुरु भएको प्रदेशको बजेट अधिवेशनमा एमालेको ओली समूह र नेपाल–खनाल समूह एक अर्का विरुद्धमा प्रस्तुत भएका छन्।
संसदमा ओली समूहले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा मागेको छ भने नेपाल–खनाल समूह मुख्यमन्त्रीको बचाउमा लागेको छ। अर्थात ओली समूहको मागको विपक्षमा नेपाल–खनाल समूह उत्रिएको छ।
ओली समूहका नेता पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरका छन्।
‘समर्थन फिर्ता लिएपछि माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको छ। अल्पमतको सरकारका मुख्यमन्त्रीले राजीनामा गर्नुको अर्को विकल्प छैन्,’ संसदमा बोल्दै नेता बोहराले भने, ‘त्यसैले तत्काल राजीनामा होस् भन्ने माग गर्दछु।’
नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको छ। र, यसको जानकारी जेठ १४ गते संसद सचिवालयलाई (दर्ता नम्बर ५६७) बुझाइएको छ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रतिपक्षी भएकाले प्रदेश सभा बैठकमा बस्ने व्यवस्था पनि सोहीअनुसार गर्नुपर्ने समेत उनले माग गरे।
‘समर्थन फिर्ता लिएपछि एमाले प्रतिपक्ष भएको छ। त्यसैले हाम्रो बस्ने व्यवस्थापन पनि यसै अनुसार मिलाउनुपर्छ,’ उनले भने।
उता नेपाल–खनाल समूहका सांसद अमर बहादुर साउँदले भने समर्थन फिर्ता लिने निर्णय गरेकोमा आपत्ति जनाउँदै बोहराको अभिव्यक्तिलाई आश्यचर्यजनक भएको टिप्पणी गरेका छन्। र मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकार अहिले यथावत रहने दाबी पनि गरे।
‘सत्तापक्षकै सांसदले समर्थन फिर्ता लिएको आश्यचर्यजनक अभिव्यक्ति दिएका छन्। एमालेको आठौँ संसदीय दलको बैठकले समर्थन यथावत राख्ने सर्वसम्मत निर्णय गरेको स्मरण गराउँछु’ नेता साउँदले भने, ‘कोरोनाको विषम परिस्थितीमा सरकार फरबदलमा लाग्नु हुँदैन। यसै सरकारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको छ।’
सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एमालेको गठनबन्धनको सरकार छ। ओलीको अध्यक्षतामा १० जेठमा बसेको एमालेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
तर, १२ जेठमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेर ओलीको निर्देशन उल्लंघन गरेको थियो।
सभामुखसहित २५ प्रदेश सांसद रहेको एमाले प्रदेश सभामा सबैभन्दा ठूलो दल हो। माधव कुमार नेपाल र झलनाथ खनाल समूह प्रदेश सरकारमा बलियो छ। नेपाल–खनाल समूहमा १८ सांसद छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ६ सांसद खुलेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टको राजीनामा मागियो
प्रतिक्रिया