राजनीति


नयाँ दल गठन र ओलीसँग वार्ता सँगसँगै अघि बढ्छः माधव नेपाल

नयाँ दल गठन र ओलीसँग वार्ता सँगसँगै अघि बढ्छः माधव नेपाल

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १३:३१,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउने बताएका छन्।

आफूनिकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा ओली पक्षसँग भइरहेका छलफलहरु आफूसँग परामर्श गरेरै भइरहेको नेपालले बताए।

केही दिनयता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतले नेपालको इच्छाविपरीत ओली पक्षसँग वार्ता जारी राखेको खबर बाहिरिएपछि उनले यस्तो बताएका हुन्।

‘वार्ता र छलफलमा जानु भएका साथीहरुले जानु भन्दाअघि नै मसँग परामर्श र छलफल गर्नुभएको छ। बाहिर आएको जस्तो कुरा होइन। एकल बसेपनि सामूहिक बसेपनि मेरो नोटिसमै भइरहेको हो,’ नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर वार्ताको नाममा हाम्रो वैकल्पिक पार्टी निर्माण गर्ने विषयलाई अलमल्याउने खोजेको हो कि भनेर हामी चनाखो बन्नुपर्छ। अहिले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै जान्छ।’

छलफलमा केन्द्रीय सदस्यहरुले वार्ताको नाममा ओली पक्षले नयाँ दल बन्नबाट रोक्ने रणनीति लिएको हुनसक्ने भन्दै नेपाललाई सचेत गराएका थिए।

छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि जानकारी गराएका छन्।

नेता नेपालले ओलीको गतिविधि पार्टीको मात्रै विषय नभएको भन्दै हस्ताक्षर फिर्ता नहुने बताएका हुन्।

‘ओलीले जे गरेका छन्। त्यो पार्टीको मात्रै विषय होइन। यो देश र संविधान रक्षाको कुरा हो। यो विषय आफ्नो प्रक्रियामा अघि बढिरहन्छ,’ नेता नेपालले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन।’

नेता नेपालसहित एमालेका २३ जना सांसदले प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको संसद् विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदसँग मिलेर अदालतमा मुद्दा दायर गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन भएको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले २०७५ जेठ २ गतेको संगठन ब्युँताउने विषयमा सहमति गरेर मात्रै एकता हुन नसक्ने बताएका थिए।

उनीहरुले ओलीले प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेको एक नेताले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad