राजनीति


दुई महिनाबीचका चार मतदानमा राप्रपाले लियो फरक फरक नीति

दुई महिनाबीचका चार मतदानमा राप्रपाले लियो फरक फरक नीति

नेपालखबर
जेठ १७, २०७८ सोमबार ५:३०,

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले आज लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभामा रिक्त सदस्यको मतदान बहिष्कार गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित राणाले कोरोना महामारी नियन्त्रणमा व्यस्त रहनुपरेका कारण मतदानमा सहभागी नभएको बताएका छन्।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले काग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद,’ उनले सोमबार विहान सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

राणाले कोरोना महामारीबाट जनतालाई बचाउनु नै अहिले आफ्नालागि सबैभन्दा ठूलो कुरा भएकाे हुँदा निर्वाचनलाई प्राथमिकता नदिएको बताए।

‘यो महामारीका बेला अरु दलको लफडामा किन पर्नु भनेर म मत दिन गइनँ,’ उनले नेपालखबरसँग भने।

लुम्बिनीमा राप्रपाबाट दुई जना स्थानीय तह प्रतिनिधि निर्वाचित भएका छन्। रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष राप्रपाकी शिवकान्ती चमारले भने आफूले मतदान गरेर आएको बताइन्।

राप्रपा नेताहरुका अनुसार लुम्बिनीको निर्वाचनमा मत दिने सम्बन्धमा सो पार्टीले मतदातालाई नै निर्णय गर्ने अधिकार दिएको छ।

‘लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा हाम्रा दुई मतदाता हुनुहुन्छ, उहाँहरुलाई पार्टीले स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ,’ राप्रपा नेता राजाराम बर्तौलाले नेपालखबरसँग भने।

यसअघि वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा राप्रपाका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका एमाले उम्मेदवार रामबहादुर थापालाई मतदान गरेका थिए।

तर थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतको विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका थिए।

गत बैशाखमा कर्णाली प्रदेशमा त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिँदा राप्रपाकी सांसद सोशीला शाही तटस्थ बसेकी थिइन्।

त्यसैगरी, बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा प्रतिनिधि सभामा राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङदेन अनुपस्थित रहेका थिए।

‘प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कुरा भएकोले त्यहिअनुसारको तयारी पनि थियो, तर त्यहि बीचमा झापामा रहेका लिङदेनलाई कोरोना संक्रमण भएपछि त्यसबारे राप्रपाले कुनै औपचारिक निर्णय पनि गरेन र उहाँ (लिङदेन) पनि काठमाडौं नै आउनुभएन,’ एक राप्रपा नेताले बताए, ‘विश्वासको मतको प्रस्ताव अस्वीकृत हुँदा ठूलो मतान्तर रहेका कारण राप्रपाको १ मतको विषय ठूलो बनेन। एमालेको फ्लोर क्रसकै विषयका कारण त्यो कुरा कसैले वास्ता गरेन।’

यो पनिः बादललाई मत माग्दै एमालेले लेख्यो चिठी, राप्रपाले गर्ने भयो सूर्यमै मतदान

तर, त्यसपछि वागमती प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेका सांसदले आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्दा पनि राप्रपाका मतदाताले थापालाई मतदान गरेको थिए।

सो निर्वाचनमा एमालेले राप्रपासँग लिखितरुपमा मत मागेको थियाे भने राप्रपाले पनि औपचारिक निर्णय र घोषणा नै गरेर एमाले उम्मेदवारलाई मत दिएकाे थियो।

यसरी दुई महिनाभित्र भएका चार निर्वाचनमा राप्रपाले फरक फरक नीति अवलम्बन गरेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .