ad ad

राजनीति


राष्ट्रपति र प्रधामन्त्रीको संस्कार ठीक नहुँदा दुःख पाइरहेका छौं : देउवा

राष्ट्रपति र प्रधामन्त्रीको संस्कार ठीक नहुँदा दुःख पाइरहेका छौं : देउवा

नेपालखबर
जेठ १५, २०७८ शनिबार १:५९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको गलत संस्कार र व्यवहारका कारण देश र जनताले दुःख भोग्नुपरिरहेको आरोप लगाएका छन्।

गणतन्त्र दिवसका अवसरमा शनिबार बिहान शुभकामना सन्देश जारी गरी सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको गलत शैलीका कारण नेपाली जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र नै असफल हुने खतरामा परेको टिप्पणी गरेका हुन्।

‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ। लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको विषय बन्दछ र बन्नुपर्दछ,’ विज्ञप्तिमा देउवाले भनेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं।’

यसर्थ आज गणतन्त्रका दिवसका दिन यो गम्भीरता र चुनौती मनन गरेर सम्पूर्ण नेपाली एकजुट भई अघि बढ्न उनले अपिल पनि गरेका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक यही जेठ ७ गते मध्यराति संसद् विघटन गरेपछि अहिले सर्वाेच्च अदालतमा मुद्दा चलिरहेको छ।

कांग्रेस सभापति देउवाले कोरोना महामारीबाट आक्रान्त नागरिकप्रति सरकार जिम्मेवार र संवेदनशील नदेखिएको आरोप पनि लगाएका छन्।

‘कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार सर्वथा उदासीन र संवेदनहीन देखिएको छ,’ उनले भनेका छन्, ‘यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .