राष्ट्रपति बा एन्द, प्रधानमन्त्री मोत्तर ओएनी र रक्षामन्त्री सुलेमान डुकुउरे हाल राजधानी बमाकोको सैन्य क्याम्पमा सेनाको निगरानीमा रहेको अल्जाजिराले जनाएको छ।
एक वर्षमा दोस्रोपटक सेनाले सत्ता हत्याउने प्रयास गरेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
माली पश्चिम अफ्रिकाको गरिब राष्ट्र हो। सोमाबर साँझ मात्र प्रधानमन्त्री ओएनीले एएफपीसँग टेलिफोनमा आफूलाई सेनाहरु लिन आएको बताएका थिए। त्यसपछि उनको फोन बन्द छ।
यस कदमको संयुक्त राष्ट्रसंघले आलोचना गर्दै सबै नेतालाई रिहा गर्न सेनासँग आग्रह गरेको छ।
राष्ट्रसंघसँगै अफ्रिकी संघ, इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, युरोपेली संघ तथा अमेरिकाले पनि देशका प्रमुखहरुको गिरफ्तारी अवैधानिक भएको भन्दै निन्दा गरेका छन्।
उनीहरुले कुनै सर्तबिना नेताहरुको रिहाई हुनुपर्ने बताएका छन्।
सरकारमा भएको फेरबदलको केही समयमै कारवाही
माली सरकारमा भएको फेरबदलको केही घण्टामै त्यहाँका नेतृत्वलाई सेनाले नियन्त्रणमा लिएका हुन्।
दुई वरिष्ठ सैन्य अधिकारीलाई हटाएपछि सेनाले यस्तो कदम चालेहो हो। ती सैन्य अधिकारीले गतवर्ष सैन्य कूको प्रयास गरेका थिए।
बीबीसीका अफ्रिकी संवाददाता विल रोसका अनुसार ९ महिना अगाडि मात्र मालीमा सैन्य कूको प्रयास भएको थियो। सोहीबेला इब्राहिम बुबाकर काइतालाई राष्ट्रपतिको पदबाट हटाइएको थियो।
रोसका अनुसार जब काइतालाई सेनाले राष्ट्रपतिबाट हटाएका थिए त्यसबेला त्यहाँका जनता खुशी भएका थिए। तर अन्तरिम सरकारले सेनाको प्रभाव र सैन्य कूका बेला गरेको विकासको वाचा पुरा नभएपछि मानिसहरु दुःखी बनेका छन्।
यसअघिको सैन्य कूको प्रयासका बेला इस्लामिक चरमपंथीले उत्तरी मालीमा फाइदा उठाउँदै ठूलो स्थान नियन्त्रणमा लिएको थियो।
त्यसबेला फ्रान्सका सेनाले कारवाही गरेर सो जमीन माली सरकारको लागि फिर्ता लिएका थिए।

प्रतिक्रिया