राजनीति


के पूर्वमाओवादीहरुबीच एकता सम्भव छ?

के पूर्वमाओवादीहरुबीच एकता सम्भव छ?

प्रशान्त लामिछाने
जेठ ५, २०७८ बुधबार १२:१४,

सर्वोच्च अदालतले नेकपालाई विभाजित गर्ने फैसला गरेपछि एमाले र माओवादी केन्द्र पुरानै स्थानमा फर्किए।

एमालेसँगको एकता टुटिसकेपछि पूर्वमाओवादीहरुबीच एकताको चर्चा हुन थालेको छ। माओवादी केन्द्रका कार्यकर्तादेखि अन्य पार्टीमा रहेका पूर्वमाओवादीहरुले पनि यस्तै मत व्यक्त गर्दै आएका छन्।

तत्कालीन माओवादी पार्टी अहिले विभिन्न घटकमा विभाजित छ। २०४७ साउनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मल लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन र त्यसको केहीपछि बाबुराम भट्टराई, हरिबोल गजुरेलसहित 'विद्रोही मसाल' को मिलनपछि एकता केन्द्र बन्यो।

पार्टीले जनयुद्धको लाइन लिएपछि त्यसबाट लामा, विश्वकर्माहरु बाहिरिए। तर बाबुराम भट्टराई त्यसको योजनाकारका रुपमै रहे।

उसो त २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी अनेक पटक फुटिसकेको छ। पहिलो पटक २०१९ को तेस्रो महाधिवेशनपछि नेकपामा विभाजनको रेखा कोरिएको थियो। २०४३ सालमा सेक्टर काण्डपछि पार्टी नेतृत्वमा उदाएका प्रचण्ड एकता र विभाजन दुवै परिघटनामा पार्टीको नेतृत्वमै रहे।

अहिले माओवादी छोडेका नेताहरुका आफ्नै दल छन्। माओवादीका उपाध्यक्ष रहेका मोहन वैद्य क्रान्तिकारी माओवादीका महासचिव छन्, डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष छन्, नेत्रविक्रम चन्द नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन्। यस्तै गोपाल किराँती, आहुतीका आआफ्नै पार्टी छन्।

चर्चा चले पनि पूर्वमाओवादी शक्तिबीच तत्काल एकता सम्भव नभएको बताउँछन् वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल। प्रचण्डसँग विचार, राजनीतिले पनि टाढिइसकेकाले एकताको सम्भावना न्यून रहेको उनले बताए।

'एक जमानामा माओवादी थियो भनेर पुन: त्यसको कल्पना गरेर मात्र एकता हुँदैन,' गजुरेलले नेपालखबरसँग भने, 'एकताको एजेन्डा नै छैन।'

प्रचण्ड राष्ट्रिय स्वाधीनताका विषयमा गम्भीर बन्ने हो भने कार्यगत एकतासम्म गर्न सकिने उनले बताए।

तर, आपत परेको बेला मात्र पूर्वसहकर्मी सम्झिने प्रवृत्तिले एकता हुन नसक्ने गजुरेलको भनाइ छ।

'एमालेसँग एकता गर्दा उहाँ (प्रचण्ड) को भुईँमा खुट्टा थिएन', उनले भने, 'तर त्यो एकता लामो जाँदैन भन्नेमा हामी पहिल्यैदेखि थियौं।'

प्रचण्ड नेतृत्वको माओवादीमा राष्ट्रिय आत्मसमर्पण र वर्गीय आत्मसमर्पण देखिएको उनले आरोप लगाए।

माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलको विचारमा भने पूर्वमाओवादीको एकता सम्भव छ। पूर्वमाओवादी मात्र नभएर विभिन्न चिरामा छरिएर रहेका परिवर्तनकारी शक्तिको एकता अहिलेको आवश्यकता भएको उनले बताए।

'प्राविधक कुराहरु मिलाएर पूर्वमाओवादीको एकता अहिलेको आवश्यकता हो', पौडेलले भने, 'एकताको पहल आवश्यक भएको छ।'

कम्युनिस्ट आन्दोलनमा एउटा परिवर्तनलाई नमान्ने धार र अर्को परिवर्तनकारी धार देखिएको उनको भनाइ छ। समाजवादको लक्ष्य भएकाहरुको एकता जरुरी भइसकेको उनले बताए।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले सोमबार सामाजिक संजालमा जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तर उठाउने बताएका छन्। उनको यो भनाइलाई कतिपयले नेकपा एमाले र माओवादीको पुन: एकता गराउने प्रयासका रुपमा अर्थ्याएका छन्। दुई पार्टी एकताको समयमा शर्माले सक्रिय भूमिका खेलेका थिए।

माओवादी र एमालेबीच एकता हुँदा त्यसको विपक्षमा थिए गोपाल किराती। प्रचण्डसहितका नेता एमालेमा जाँदा किरातीले माओवादीलाई पुनर्गठन गरेका थिए।

माओवादी पार्टी नै आवश्यक छ भनेर आफूरु एमालेसँगको एकतामा नगएको किराती बताउँछन्। सर्वोच्चको फैसलाले माओवादी र एमालेलाई अलग गराइदिँदा त्यो पुष्टि भएको भन्दै आफू पूर्वमाओवादी एकताको अभियानमा रहेको उनले बताए।

'अदालतले माओवादीलाई पूर्ववत अवस्थामा ल्याउनु र विप्लव कमरेड त्यही बेला सार्वजनिक हुनुले पूवमाओवादी एकतालाई बल पुर्‍याएको छ,' किरातीले भने।

किरातीले २०७७ चैत ३ गते एकताको लागि आग्रह गर्दै प्रचण्ड, भट्टराई, वैद्य र विप्लवलाई पत्रसमेत पठाएको बताए।

'हामीले उहाँहरुलाई एकताका लागि आह्वान गर्दै पत्र पठाएका छौँ। माओवादी विचारको मात्र कुरा होइन, भावना र युद्धमा बगेको रगतको कुरा पनि हो', किरातीले भने, 'महाध्रुवीकरण आजको आवश्यकता हो।'

पत्र पठाएपछि प्रचण्डले आफूलाई बोलाएर एकताको पक्षमा कुरा गरेको उनले बताए। चैत ६ गतेपछि तीन पटक प्रचण्डसँग भेट भएको उनले बताए। प्रचण्ड पूर्वमाओवादी एकताको पक्षमा सकारात्मक पाएको उनले बताए।

तर विप्लव नेतृत्वको नेकपाका नेता धर्वेन्द्र बास्तोला नयाँ आधारमा एकतावद्ध भएर जाने अवस्था आएमा एकताको ढोका खुल्ला रहने तर अहिलेकै व्यवस्थामा त्यो सम्भव नरहेको बताउँछन्।

'अहिलेकै संसदीय प्रणालीमा पूर्वमाओवादीको एकता सम्भव छैन,' उनले भने, 'प्रचण्डजीहरु संसदीय व्यवस्थालाई सच्याएर जाने भन्नु हुन्छ। त्यसरी एकता हुँदैन।'

एमाले र माओवादीबीच भएको एकताले पनि काम नगर्नुमा अहिलेको प्रणाली जिम्मेवार रहेको उनको ठम्याइ छ।

कुनै सैद्धान्तिक आधारबिना पूर्वमाओवादीको एकता मात्र भन्नु एकछिनको न्यानोमात्र भएको उनको भनाइ छ।

'यो कसैले चाहेर हुने कुरा मात्र होइन,' उनले भने, 'त्यस्तो एकताले प्रचण्डजीलाई पार लगाउँदैन। उहाँहरु सच्चिनु पर्छ भन्ने नै ठान्नुहुन्न।'

पूवमाओवादी एकताबारे बाबुराम भट्टराई पक्षको भने फरक धारणा छ। माओवादी र कम्युनिस्ट ब्रान्ड छोडेर समाजवादी केन्द्र बनाउने सन्दर्भमा मात्र एकताको कुरा अघि बढ्न सक्ने बताउँछन् भट्टराई निकट नेता तथा जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डे।

'प्रचण्ड कमरेडले कम्युनिस्ट ब्रान्ड छोडेर अहिलेको समयअनुसार समाजवादी केन्द्र बनाउन तयार भए सहकार्य, चुनावी मोर्चा वा एकता हुनसक्छ,' उनले भने, 'पुरानै धङधङीमा एकताको कुनै अर्थ रहँदैन।'

पूर्वमाओवादीको एकताले मात्र कुनै निकास दिन नसक्ने उनले बताए। माओवादी र कम्युनिस्ट ब्रान्डसहितको एकता अहिलेको आवश्यकता नभएको उनको टिप्पणी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .