राजनीति


दीप बस्न्यातलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दीप बस्न्यातलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ११:३०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखआयुक्त दीप बस्न्यातलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विशेष अदालतको आदेश बदर गर्दै शुक्रबार सर्वोच्चले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘निज प्रतिवादी दीप बस्न्यात उमेर ६९ वर्ष भइसकेका जेष्ठ नागरिक देखिनुका साथै उनमा मुटु सम्बन्धी समस्या रहेको तथा उनमा र उनको परिवारका सदस्यहरु समेतमा कोभिड–१९ संक्रमण भर्इ उपचाररत रहेको भन्ने तथ्य पुष्टि हुने कागजात समेत पेस हुन आएको देखियो। यस अवस्थामा निवेदक बस्न्यातलाई मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मानवीय दृष्टिले अनुचित देखियो।’

तत्काल प्राप्त प्रमाणका रोहमा वेमुनासिव र अनुपयुक्त देखिएको भन्दै विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश पनि बदर गरिदिएको छ।

दीप बस्न्यातले मन्त्रिपरिषद्को पूर्व निर्णय र निर्देशन बमोजिम मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न सचिवका हैसियतले मन्त्री समक्ष फायल पेस गरेको देखिएको र उनी सरहका अन्य कतिपय पदाधिकारी साधारण तारिखमा छुटेकाले उनलाई मात्रै थुनामा राख्नु अनुचित देखिएको आदेशमा भनिएको छ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातले आफूलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा गत शुक्रबार रिट निवेदन दर्ता गरेका थिए।

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन अनुसार सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

डिल्लीबजार कारागार चलान भएका उनी हाल कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन्। बस्न्यातले निवेदनमा आफू वृद्ध र रोगी पनि भएकाले थुनामुक्त गर्न माग गरेका थिए।

यो पनिः

अस्पतालबाट दीप बस्न्यातको निवेदनः वृद्ध र मुटुको रोगी छु, थुनामुक्त गरीपाऊँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .