राजनीति


उपराष्ट्रपति पुन भन्छन् : हजारौं मानिसले उपत्यका छोडेर घर फर्केका दृष्य दुःखद

उपराष्ट्रपति पुन भन्छन् : हजारौं मानिसले उपत्यका छोडेर घर फर्केका दृष्य दुःखद

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ११:५२,

उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु हुनुअघि हजारौं मानिसले उपत्यका छोडेर घर फर्कन लाग्दाका दृष्यहरु दुःखद रहेको बताएका छन्।

बुधबार उपराष्ट्रपति पुनले कोरोना रोकथामसम्बन्धी एक सन्देश प्रकाशित गरी संघीय, प्रादेशिक र स्थानीय सरकारहरुले कोरोना भाइरसको तीव्र फैलावटलाई नियन्त्रण र संक्रमितहरुको उपचारका लागि प्रयास गरिरहेको बताएका छन्।

निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुने भन्दै उनले भर्खरै लयमा फर्कन लागेको मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्ने र यसको असर हामीले दीर्घकालसम्म भोग्नुपर्ने बताएका छन्।

‘तर, कोरोना भाइरस रोथकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाजस्तो अप्रिय निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन’ उनले भनेका छन्।

यस्तो छ, उपराष्ट्रपति पुनको सन्देश
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ। पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दुवै बढिरहेको छ। यो हाम्रो लागि ज्यादै दुःखद कुरा हो।
संघीय, प्रादेशिक र स्थानीय सरकारहरुले कोरोना भाइरसको तीव्र फैलावटलाई नियन्त्रण र संक्रमितहरुको उपचारका लागि प्रयास गरिरहेका छन्। भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा शुक्रबार विहानदेखि निषेधाज्ञा जारी गरिएको छ भने संक्रमितको संख्या बढिरहेका जिल्लाहरुमा कतै निषेधाज्ञा लागू भइसकेको र कतै हुने क्रममा छ।

काठमाडौं उपत्यकामा निषाधेज्ञा सुरु हुनुअघि हजारौं मानिसले उपत्यका छोडेर घर फर्कन लाग्दाका दृष्यहरु दुःखद छन्। निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुनेछ। भर्खरै लयमा फर्कन लागेको मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्नेछ। यसको असर हामीले दीर्घकालसम्म भोग्नुपर्नेछ। तर, कोरोना भाइरस रोथकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाजस्तो अप्रिय निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन।

निषेधाज्ञा अवधिमा कोरोना भाइरस परिक्षणलाई तीव्र बनाउन र संक्रमितहरुको प्रभावकारी उपचार गर्नुपर्दछ। यस अवधिमा परिक्षणलाई तीव्र बनाउन, गम्भीर खालका संक्रमितहरुको उपचारको व्यवस्था गर्न, अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गर्न र बढी प्रवभावित क्षेत्रमा थप चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न ध्यानाकर्षण गराउन चाहन्छु। साथै, कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउनसमेत ध्यानाकर्षण गराउन चाहन्छु।

यो महामारीविरुद्धको मोर्चामा चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै अग्रभागमा हुनुहुन्छ। हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु क्षमतावान, अनुभवले खारिनुभएका मात्रै होइन देशभक्तिपूर्ण भावले ओतप्रोत र उच्च मनोबलका साथ हुुनुहुन्छ। कोरोना भाइरसको पहिलो लहरलाई रोक्दाको अनुभवसमेत हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा रहेकोले गम्भीर संक्रमितहरुले उपलब्ध पद्धति अनुसारको उपचार पाउनुहुने र संक्रमणसमेत छिट्टै नियन्त्रण हुनेमा विश्वस्त छु। चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु, ग्रामिण स्वयम्सेविका लगायत यो महामारीविरुद्ध अग्रमोर्चामा रहनुभएका सबैप्रति म उच्च सम्मान व्यक्त गर्दछु।

कोरोना भाइरसविरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै जितिँदैन। यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिन्छ। जस्तो सुकै अप्ठ्याराहरुमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकुलतामा बदल्ने हाम्रो विगत हो। म कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम दिदीबहिनी तथा दाजुभाइहरुमा अपिल गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad