राजनीति


किन लम्बियो गतिरोध : जसपाको अनिर्णय कि कांग्रेसको अलमल?

किन लम्बियो गतिरोध : जसपाको अनिर्णय कि कांग्रेसको अलमल?

प्रशान्त लामिछाने
बैशाख २, २०७८ बिहिबार ११:६,

जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सत्ता समीकरणबारे अझै पनि आफ्नो धारणा स्पष्ट पारेको छैन।

नेपाली कांग्रेसले यसअघि नै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरे पनि जसपा अझै अनिर्णित रहेको छ।

प्रधानमन्त्री केपी ओलीलाई हेर्नेबारे जसपामा दुई धार देखिँदा नयाँ सत्ता समीकरणबारे सो पार्टीको स्पष्ट धारणा आउन नसकेको हो।

ओली सरकारको विकल्प खोजिरहेको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन। जसपाको अनिर्णयकै कारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरिरहेको एक माओवादी नेता बताउँछन्।

जसपाभित्र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारलाई विदा गर्नुपर्ने अडानमा छन्। तर, अर्का अध्यक्ष महन्थ ठाकुर भने सत्ता समीकरणभन्दा पहिले आफ्ना माग सम्वोधन गराउनुपर्ने भन्दै ओलीसँग नजिकिएका छन्।

मधेश, थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, संविधान संशोधन लगायतका विषय सम्वोधन गर्नुपर्ने अडान ठाकुर पक्षले लिँदै आएको छ।

तर आफूहरु अनिर्णीत भएको विषय स्वीकार गर्न चाहँदैनन् जसपाका वरिष्ठ नेता राजेन्द्र महतो।

सरकार परिवर्तनको खेलमा जसपा नरहेकोले निर्णय र अनिर्णयको कुरै नआउने महतोको तर्क छ।

नेपाली कांग्रेस र माओवादी केन्द्र सरकार बनाउने कसरतमा सक्रिय रहे पनि जसपाको एजेण्डा सरकार निर्माणसँग नजोडिएको महतोले बताए।

‘हामी सत्ताको खेलमा छैनौं, कुन सरकार आउँछ वा जान्छ हाम्रो विषय होइन’, उनले भने, ‘मधेश, थरुहट आन्दोलनका बन्दी रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो प्रमुख एजेण्डा हो।’

आफूहरुका मागबारे प्रधानमन्त्री ओलीबाट सकारात्मक पहल भइरहेको पनि उनले दावी गरे। ठाकुर र महतोले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलाई प्रमुखताका साथ उठाएका छन्।

कांग्रेस–माओवादीले आफ्नो मुद्दा लिएर संसदमा आए आफूहरुले त्यसको उत्तर दिने उनको भनाइ छ। कम्युनिस्ट पार्टीको झगडाले देश यो अवस्थामा पुगेको तर्क गर्दै उनले आफ्नो पार्टीमा पनि कसैको व्यक्तिगत आग्रह पूर्वाग्रह रहे पनि त्यसले पार्टीको नीतिमा प्रभाव नपार्ने दाबी गरे।

संघीय संसदमा हाल ३४ सांसद (दुई निलम्बितसहित) रहेको जसपा नेताहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवाले पटक पटक छलफल गरेका छन्। तर जसपाबाट एकमतसहित ठोस धारणा नआउँदा कांग्रेसले आगामी कदम चाल्न सकेको छैन।

जसपामा डा. भट्टराई र यादव भने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको भन्दै जसरी पनि उनलाई सरकारबाट विदा गर्नुपर्ने अडानमा छन्।

‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको स्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो-चरणबाट उल्ट्याएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है!’ बुधबार ट्वीट गर्दै डा. भट्टराईले भनेका छन्।

तर ठाकुर पक्षका नेताहरुले माग सम्बोधनका लागि प्रधानमन्त्री ओली सकारात्मक भइरहेका बेला फरक निर्णयमा जान नहुने बताउँदै आएका छन्।

नेपाली कांग्रेसले माओवादी केन्द्र र जसपाको निर्णय कुरिरहेको कांग्रेस नेता रमेश लेखकले बताए।

‘हामीले हाम्रै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरिसकेका छौं। त्यसका लागि माओवादी र जसपालाई सहयोग गर्न आग्रह गरेका छौं,’ लेखकले भने, ‘उहाँहरु तयार भए नयाँ सरकार बनाउने प्रक्रियामा अघि बढ्छौं।’

माओवादी र जसपाको निर्णय नआउँदा नयाँ सरकार निर्माण लगायतका विषय रोकिएको लेखकको भनाइ छ।

त्यसैगरी माओवादी नेताहरुले पनि जसपा एकढिक्का नहुँदा नयाँ गठबन्धन निर्माणमा अड्चन आएको बताएका छन्।

‘निर्णायक मत रहेको जसपा दुई फ्याक भइदियो जसले गर्दा अप्ठेरो परेको छ,’ माओवादी केन्द्र स्थायी समिति सदस्य मातृका यादवले नेपालखबरसँग भने।

त्यसो त उनले गठबन्धनको नेतृत्व गर्नुपर्ने प्रमुख दल कांग्रेसले नै यस बारेमा गम्भीर पहलकदमी गर्न नसकेको आरोप लगाए।

‘नयाँ समीकरण बनाउने सन्दर्भमा जसपा एक ढिक्का बनाउन भूमिका खेल्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले नै दह्रोसँग खुट्टा टेक्नुभएको छैन,’ यादवले भने ‘उहाँले सरकारको नेतृत्व गर्ने निर्णय त गराउनुभएको छ तर अर्कोतर्फ उहाँको ध्यान चुनावतिर पनि छ, जसले गर्दा गतिरोध अन्त्य हुन नसकेको हो।’

अविश्वासको प्रस्ताव पास हुने सुनिश्चित नगरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीकै हात माथी पर्ने माओवादीको बुझाइ छ।

माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यदी त्यसो हुन पनि नसक्ने र अविश्वासको प्रस्ताव पनि पारित हुननसक्ने अवस्थामा अर्को सरकार बन्ने भन्दा पनि ओलीकै निरन्तरता र प्रतिनिधि सभा विघटन गर्ने अर्को आधार तयार हुने खतरा माओवादीले देखिरहेको छ। त्यो जोखिम उठाउन आफूहरुले नचाहेको माओवादी केन्द्रका एक नेताले बताए।

त्यसो हुँदा संसद विघटन गर्ने ओलीको कदमको राजनीतिक रुपमा पुष्टि हुन्छ भने आफू सरकारमै रहेर निर्वाचन गराउने उनको अर्को प्रमुख चाहना समेत पुरा हुने अवस्था आउँछ।

अविश्वासको मत पारित हुन नसकेको अवस्थामा त्यसपछि एक वर्ष उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनै नपाइने संवैधानिक व्यवस्था छ।

यहि जोखिम देखेर माओवादी केन्द्रले जसपालाई एकढिक्का नपारेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन नचाहेको एक माओवादी नेताले प्रष्ट्याए।

यो बीचमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेट भइरहेको छ। कांग्रेससहित तीन दलबीच नयाँ समीकरणबारे समान धारणा बनाउने प्रयासस्वरुप जसपा नेता डा. भट्टराई, यादव र देउवाबीच पनि मंगलबार भेट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .