राजनीति


सबैभन्दा कम समयमा छायाँकन गरिएको चलचित्र ‘श्री’ शुक्रबारदेखि देशभरका हलमा लाग्ने

सबैभन्दा कम समयमा छायाँकन गरिएको चलचित्र ‘श्री’ शुक्रबारदेखि देशभरका हलमा लाग्ने

नेपालखबर
चैत २५, २०७७ बुधबार ५:५६,

नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।

लकडाउनको बेलामा निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सीडीसी सिनेमामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

नयाँं वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्।

पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैँले पहल गरेको वितरक करण श्रेष्ठले जानकारी दिए। कार्यक्रममा बोल्दै उनले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरि हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताए।

‘ट्रेलर एकदमै राम्रो लाग्यो। त्यसपछि मैले निर्देशक सूर्य दाईलाई सम्पर्क गरेर यो फिल्म त हलमै प्रदर्शन गर्नुपर्छ । त्यसको सबै चाँजोपाँचो म मिलाउछु भनेर अनुरोध गरें,’ करणले भने, ‘दाई पनि आफ्नो फिल्म हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ। कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास मैले लिएको छु ।’

‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले यो फिल्म आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत बिश्वास गरेर अबसर दिएकोमा धन्यवाद ब्यक्त गरे।

‘मैले अहिलेसम्म अभिनय गरेको फिल्महरु मध्ये ‘श्री’ उत्कृष्ट छ। मैले मेरा सन्ततीलाई तिम्रो बाबुको फिल्म हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो बिषम परिस्थितिमा पनि सूर्य दाईले आँट गरेर फिल्म बनाउनु भयो। अहिले यस्तो अबस्थामा करणजीले प्रदर्शन गर्दै हुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ।’ उनले सम्पूर्ण चलचित्रप्रेमीलाई हलमै पुगेर ‘श्री’ हेरिदिन आग्रह गरे।

अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र फिल्मको चर्चा गरे । उनले बिषम परिस्थितिमा समेत हिम्मतका साथ फिल्म निर्माण गरि प्रदर्शन गर्न लागीएकोमा खुशी प्रकट गरे । फिल्मकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राविधिकहरुलाई राहत स्वरुप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने विश्वास ब्यक्त गरिन्।

एभरेस्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ छायांकन गरिएको थियो। कार्यक्रममा फिल्मका संवाद लेखन शिवम् अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कुँवरले पनि ‘श्री’ निर्माण प्रक्रिया र परिस्थितिको बिस्तार लगाएका थिए।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन्।

‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो ’ हाल अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ।’ चलचित्र निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई पनि समाजीक कार्यकै रुपमा लिएका छन्।

‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राविधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो। कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ’, निर्देशक बोहरा भन्छन्।

निर्देशक बोहराकै लेखनमा शिवम् अधिकारीले सघाएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन्। सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ। ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad