ad ad

राजनीति


राज्यव्यवस्था समितिले दिएको निर्देशनमा कांग्रेसको समर्थन छः प्रवक्ता शर्मा

राज्यव्यवस्था समितिले दिएको निर्देशनमा कांग्रेसको समर्थन छः प्रवक्ता शर्मा

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार १०:३३,

प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको प्रस्ट पारेका हुन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पारे।

प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताए। संविधानलाई केन्द्रमा राखेर लोक सेवा आयोगले पुनः सो विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाई छ।

प्रवक्ता शर्माले सो विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोक सेवा आयोगले सो विज्ञापन पुनः खुलाउन ढिलाई गर्न नहुने पनि बताए।

कांग्र्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष पनि निकालेको छ। पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिए। पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको जनताको विकर्षण रहेको पहिलो चरणको जागरण अभियानको क्रममा देखिएको प्रवक्ता शर्माको भनाई छ। जनजागरण अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिस्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेबाट पनि पहिलो चरणको कार्यक्रमबाट जनता आफ्नो पार्टीप्रति आकर्षित भएको निष्कर्षमा पुगिएको पनि कांग्रेसले जनाएको छ।

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गते बीपी जयन्तिको दिनबाट सुरु गर्नेछ। त्यस अघि सो कार्यक्रमका लागि आवश्यक निर्णय लिन असारको तेस्रो साता केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए। दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गर्नु अघि नै नेपाली काँग्रेसले नेविसंघलगायतका भातृ संस्थाहरुको पुनर्गठन गरी सक्ने कार्यक्रम पनि तय गरेको छ।

नेपाली कांग्रेसले पहिलो चरणको कार्यक्रम सफल भएको र त्यसले जनतामा नयाँ ऊर्जा दिएको दावी पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .