राजनीति


एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, ढोकामै राखियो ओलीको तस्बिर

एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, ढोकामै राखियो ओलीको तस्बिर

मणि दाहाल
चैत १०, २०७७ मंगलबार ११:४२,

नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ।

एमालेका एक नेताले जनाएअनुसार काठमाडौंको थापाथली हाइटस्थित उमंगमार्गमा नेपाल हस्तकला उद्योग महासंघको कार्यालय अगाडिको भवनमा एमालेको कार्यालय सार्न भोली बुधबार सम्झौता हुँदैछ।

नयाँ कार्यालय भवनको भित्र गेटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो समेत राखिसकिएको छ।

‘दोस्रो चरणको चक्रपथ विस्तारको कारणले धुम्बाराहीमा आउन जान असहज हुने भयो’, एमालेका ती नेताले भने, ‘आउन जान पनि सजिलो होस् भनेर थापाथलीमा पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको हो।’

UML NewOffice 2

पार्टी कार्यालयको यो नयाँ भवन प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार रहेका उद्योगपति, पूर्व राज्यमन्त्री तथा एमालेका सांसद मोतिलाल दुगडले खोजेका हुन्।

‘यूएनले पहिले प्रयोग गर्दै आएको भवन हो यो’, ती नेताले भने, ‘घरमालिकसँग भोलि सम्झौता हुँदै छ।’

पार्टी कार्यालय धुम्बाराहीबाट सार्ने विषयमा पाँच महिनादेखि छलफल चल्दै आएको एमालेका अर्का एक नेताले बताए। धुम्बाराहीको पार्टी कार्यालय रहेको भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानको हो।

पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका छन्।

UML NewOffice 3

२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो। एमाले २०७२ साउन २३ गते धुम्बाराही सरेको थियो।

गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकले आगामी वैशाख ९ गते पुरानो कार्यालय भवन रहेको बल्खुमै नयाँ भवन शिलान्यास गर्ने निर्णय गरेको छ।

वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस हो।

Maitighar route UMLoffice

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .