प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको छलफल निष्कर्षविनै टुंगिएको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको प्रधानमन्त्री ओली र जसपा नेताहरुसँगको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी एक नेताले बताए।
‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन’, ती नेताले नेपालखबरसँग भने।
आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका थिए भने जसपा नेताहरुले आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहो¥याएका थिए।
छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकारमा सहभागी हुनुअघि जसपाले उठाएका माग पूरा गर्नुपर्ने जवाफ दिएको बताए।
‘प्रधानमन्त्रीजीले सरकारलाई समर्थन गरेर सरकारमा सहभागी हुनुस् भन्नुभयो’, कर्णले नेपालखबरसँग भने, ‘हामीले हाम्रा माग पहिला पूरा गर्नुहोस् अनि सोचौँला भन्ने जवाफ दियौं।’
त्यसपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी भएपछि सबै मागको सम्बोधन गर्न सकिने बताएका थिए। ‘तपाईंहरु पनि सरकारमा भएपछि माग सम्बोधन त भइहाल्छ नि, त्यसको प्रक्रियामा तपाईँहरु नै बस्न पाउनुहुन्छ’, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै कर्णले भने।
उनले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएको बताए।
‘सरकारमा आउनुअघि नै हाम्रा माग सबै पूरा गर्नुपर्छ, तपाईँले गर्छु भनेको काम पहिला गर्नुहोस् भन्यौं’, कर्णले थपे।
जसपाले सांसद रेशम चौधरीको रिहाई, मधेस र थरुहट आन्दोलनमा लागेका नेता कार्यकर्तामाथिको झुटा मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन गर्नुपर्ने माग अघि सारेको छ।
प्रधानमन्त्रीसँग छलफलका लागि अध्यक्ष महन्थ ठाकुरसहित कर्ण र सर्वेन्द्रनाथ शुक्ल बालुवाटार गएका थिए।
छलफलमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्वाङले जसपासँगको छलफल सकारात्मक रहेको बताए।
Shares

प्रतिक्रिया