राजनीति


राष्ट्रपति भण्डारी बिहानै बंगलादेश उड्दै, २ दिन राजकीय भ्रमण

राष्ट्रपति भण्डारी बिहानै बंगलादेश उड्दै, २ दिन राजकीय भ्रमण

नेपालखबर
चैत ९, २०७७ सोमबार ०:३५,

राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) बंगलादेश जाँदै छिन्।

दुई दिनको राजकीय भ्रमणका लागि उनी अहिले बिहान सवा ७ बजे नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ। काठमाडौं–बंगलादेश उडान अनुमानित १ घण्टा १० मिनेटको हुनेछ।

भ्रमण क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने सरकारले जनाएको छ।

नेपाल र बंगलादेशबीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। सम्झौताअनुसार बंगलादेश नेपाललाई पारवहन प्रयोजनका लागि रोहनपुर–सिंगावाद रेलवे रुट प्रयोग गर्न दिनेछ।

त्यस्तै दुई देशबीच स्यानिटरी र साइटो स्यानिटरीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ। सम्झौताका लागि मन्त्रिपरिषदको बैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ।

यस्तै नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने सरकारले जनाएको छ।

नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदानप्रदान कार्यक्रमसम्बन्धी सहमति पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको आइतबार सार्वजनिक मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ।

यसबाहेक नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य, व्यापार प्रवर्द्धनलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बंगलादेश भ्रमण सकेर राष्ट्रपति भण्डारी यही चैत १० गते त्यहाँकाे समयानुसार अपराह्न ३:४५ बजे काठमाडौं फर्किने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad