प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजना गर्ने संसदीय दलको बैठकमा नेता वामदेव गौतम पनि नजाने भएका छन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले नेता गौतमलाई पनि खबर आएको तर उनी संसदीय दलको बैठकमा नजाने जानकारी दिए।
‘उहाँलाई पनि खबर त आएको थियो, तर उहाँ जानु हुन्न,’ प्रेस सल्लाहकार सुवेदीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘उहाँ दुवैतर्फ (ओली र नेपाल समूह) का बैठकमा जानु हुन्न।’
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सरकारी निवास (बालुवाटार) मा संसदीय बैठक राख्दै छन्।
तर त्यसअघि नै नेपाल–खनाल पक्षले पनि आफूपक्षीय सांसदको छलफल आयोजना गरेको छ। ललितपुरमा हिजोदेखि जारी राष्ट्रिय कार्यकर्ता भेला स्थलमै नेपाल पक्षले सांसदलाई बोलाएको हो।
नेकपा हुँदादेखि नै ओली वा प्रचण्ड–नेपाल पक्ष कतै नलागी एकता अभियानमा लागेका गौतम सर्वाेच्च अदालतले पुरानै पार्टी एमाले पुनर्स्थापना गरेपछि पनि ओली वा नेपाल समूह कतै संलग्न भएका छैनन्।
ओलीले अबदेखि एमालेमा अध्यक्ष र महासचिवबाहेक अन्य शीर्ष पद नहुने एकलौटी निर्णय गरेपछि उपाध्यक्ष पद गुमाएका गौतमले अहिले फेरि एमाले एकता अभियान थालेका छन्। ओलीविरुद्ध उनी पनि रुष्ट छन्, नवौं महाधिवेशनबाट निर्वाचित एमाले कमिटी नै कायम हुनुपर्ने उनको अडान छ।
तर नेपाल–खनाल पक्षमा सामेल नभईकन गौतमले आफ्नो छुट्टै अभियान सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया