परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिको बाटोमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
उनले विप्लव नेकपा शान्तिपूर्ण राजनीतिक बाटोमा आएसँगै अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिबाहिर नरहेको बताए।
मन्त्री ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको बताएका छन्।
‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्। अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन’, मन्त्री ज्ञवालीले ट्विटमा लेखेका छन्, ‘यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय सम्माननीय प्रधानमन्त्रीज्यूलाई जान्छ। यसमा योगदान गर्नुहुने सबै धन्यवादका पात्र हुनुहुन्छ। राष्ट्रिय एकताका पक्षधर एवं शान्तिप्रेमी सबैलाई हार्दिक बधाई।’

प्रतिक्रिया