पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि विदेश आउनुपरेकोमा आफू लज्जित र दुःखित भएको बताएका छन्।
आइतबार स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत उपचारका लागि विदेश आउनुपरेकोमा आफू लज्जित भएको बताएका हुन्।
‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला?’, ट्विटरमा डा. भट्टराईले लेखेका छन्।
पेटमा समस्या देखिएपछि भट्टराईले लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए। उपचारका क्रममा चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमर (Neuroendocrine Tumour) भएको आशंका गरी सिफारिस गरेकाले उनी थप उपचारका लागि दिल्ली गएका हुन्।
दिल्लीमा डा भट्टराईले ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउने उनको सचिवालयले जनाएको छ।
उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ।

प्रतिक्रिया