ad ad

राजनीति


११ वर्षपछि प्रचण्ड फेरि सडकमाः आन्दोलनको अर्को अध्याय सुरु

११ वर्षपछि प्रचण्ड फेरि सडकमाः आन्दोलनको अर्को अध्याय सुरु

सागर न्यौपाने
पुस १०, २०७७ शुक्रबार १२:३३,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ११ वर्षपछि सडक आन्दोलनमा उत्रेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन घोषणा गरेको हो। शुक्रबार प्रचण्डसहित नेताहरुले माइतीघर मण्डलदेखि निर्वाचन आयोगसम्म प्रदर्शन गरे।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डको नेतृत्वमा भएको यो दोस्रो आन्दोलन हो।

११ वर्षपछि पनि उनको सडक आन्दोलनको कारण लगभग उही नै छ। उतिबेला राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड सडकमा ओर्लिएका थिए। यतिबेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटन र त्यसलाई राष्ट्रपति विद्या भण्डारीले दिएको साथ उनको आन्दोलनको कारण बनेको छ।

२०६५ सालमा प्रचण्ड नेतृत्वको सरकार नौ महिनामै ढलेको थियो। कारण थियो– प्रचण्डले बर्खास्त गरेका प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई राष्ट्रपति रामवरण यादवले थमौती दिनु। अर्थात्, कार्यकारी प्रधानमन्त्रीको निर्णयलाई राष्ट्रपतिले उल्टाइदिएका थिए।

त्यसपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए र सडक आन्दोलनको घोषणा गरे।

प्रचण्डले राजीनामा दिएपछि तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने। त्यसपछि प्रचण्ड नेतृत्वको माओवादीले नागरिक सर्वाेच्चता स्थापनाको माग गर्दै आन्दोलन गरेको थियो। जुन ६ दिने आम हड्तालसम्म पुगेको थियो।

त्यसबेला सडकमा ओर्लेर प्रचण्डले चर्काचर्का भाषण गरे, ठप्प राजधानीका विभिन्न स्थानमा कम्मर मर्काइमर्काइ नाचे।

प्रचण्डको आन्दोलनका मुख्य निशानामा थिए– राष्ट्रपति यादव र प्रधानमन्त्री नेपाल। राष्ट्रपति यादवले नागरिक सर्वोच्चता खोसेको भन्दै त्यसको पुनर्स्थापना गरिछाड्ने बाचा गरे।

पहिलो संविधानसभामा रहेको आफ्नो बहुमत सभासदको साथ लिएर माओवादीले प्रधानमन्त्रीलाई सिंहदरबार प्रवेशमा पनि रोक लगाउन खोज्यो। नेपाल नेतृत्वको सरकार संविधान लेखन र शान्ति प्रक्रियाको बाधक भएको प्रचण्डको आरोप थियो।

तर, त्यो आन्दोलनले नेपाल नेतृत्वको सरकारलाई गलाउन सकेन। बरु, प्रचण्डले आम हड्ताल रोके।

बानेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले अब ‘कठपुतली सरकार’सँग होइन सीधै मालिकसँगै गर्ने घोषणा गरे।

अन्ततः १५ महिना सरकार चलाएपछि आफ्नै पार्टीभित्रबाट पनि विरोध हुन थाल्यो र माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिए।

त्यसपछि संसदमा बहुमत पुर्‍याएर सरकार बनाउन ७ महिना लागेको थियो। त्यसैले कामचलाउ अवस्थामा सहित नेपालले २२ महिना सरकारको नेतृत्व गरेका थिए।

त्यसपछि तत्कालीन एमालेकै अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने।

खनालले करिब सात महिनामै राजीनामा दिएपछि माओवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए।

नेपाल नेतृत्वको सरकारमा गरेको आन्दोलनपछि प्रचण्ड सडकमा आएका थिएनन्।

तर, शुक्रबारदेखि प्रचण्डको अर्को आन्दोलन–अध्याय सुरु भएको छ।

संयोग नै मान्नुपर्छ, प्रचण्डको अघिल्लो आन्दोलनको प्रमुख निशाना बनेका नेपाल अहिलेको आन्दोलनमा उनीसँगै सडकमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

नेकपाको बहुमत सदस्य प्रचण्ड–नेपाल समूहमा छन्। संसद् पुनर्स्थापनाको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा पनि विचाराधीन छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .