ad ad

राजनीति


संविधानविद् आचार्य भन्छन्ः प्रधानमन्त्रीको कदम कानुनी र संवैधानिक रुपमा दुर्भाग्यपूर्ण (भिडियाे)

संविधानविद् आचार्य भन्छन्ः प्रधानमन्त्रीको कदम कानुनी र संवैधानिक रुपमा दुर्भाग्यपूर्ण (भिडियाे)

नेपालखबर
पुस ५, २०७७ आइतबार ८:२१,

संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको बताएका छन्।

गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कु’ गरेको डा. आचार्यको भनाइ छ।

संविधानविद् आचार्यले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम कानुनी र संवैधानिक रुपमा दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

प्रधानमन्त्रीको कदमले संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी पनि प्रधानमन्त्री अ‍ोलीले नै लिनुपर्ने उनले बताए। उनले भने, ‘कुनै बहाना गर्न सक्ने ठाउँ थिएन। यो कदम नाजायज छ। यो संविधानमाथिको कु हो। यसको संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी उहाँले लिनुपर्छ।’

नेपालको संविधानले कुनै पनि हालतमा, बहानामा प्रधानमन्त्रीले संसद विघटनको अधिकार नदिएको उनले बताए। २०४७ सालमा संविधानले नै प्रधानमन्त्रीलाई सो अधिकार दिएकोमा ४ पटकसम्म त्यसको दुरुपयोग भएको उल्लेख गर्दैए उनले अहिलेको संविधानअनुसार प्रधानमन्त्रीलाई त्यो अधिकार नदिएको बताए।

उनले भने, ‘नेपालको संविधानअनसार प्रधानमन्त्रीले कुनै पनि बहानामा संसद विघटन गर्न सक्ने अधिकार छैन। यसको पछाडि हामीसँग खास संवैधानिक पृष्ठभूमि र अभ्यास छ। खासगरी ०४७ सालको संविधानमा प्रधानमन्त्रीले चाहेको बेलामा प्रधानमन्त्रीले चहेका बेलामा विघटन गर्न सक्ने जुन अधिकार दियौँ त्यसको ४ पटकसम्म दुरुपयोग भयो । त्यसले मुलुकमा राजनीतिक अस्थिरता ल्यायो। संविधानले परिकल्पना गरेको गोल प्राप्त गर्न सकेन।’

संसद र व्यवस्थालाई बन्धक राखेर राजनीतिक स्थायित्वमाथि धावा बोल्ने काम कसैले गर्न नसकोस भनेर प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको उनले बताए।

उनले भने, ‘संसदमा म्याण्डेड पाएको सरकारले त्यसैअनुसार काम गरोस र संसद र व्यवस्थालाई बन्धकमा नराखोस्। राजनीतिक स्थायित्वमाथि कुनै पनि प्रकारको धावा बोल्ने काम नगरोस भन्ने अभिप्रायले प्रधानमन्त्रीलाई संसद विघटनको पावर संविधानले दिएन् । प्रधानमन्त्रीले कुनै पनि बहानामा संविधानको आधार देखाएर विघटन गर्न सक्दैन।’

संविधानविद् आचार्यले संविधानको धारा ८५ मा रहेको व्यवस्थामा प्रधानमन्त्री ‘मिस गाईड’ भएको हुन सक्ने आँकलन गरे।

उनले भने, ‘एउटा प्रावधानमा मिस गाइड भएको हुन सक्छ। धारा ८५ मा अगावै विघटन भएको अवस्थामा बाहेक प्रतिनिधिसिभाको कार्यकाल ५ वर्षको हुने भन्ने छ । यसमा अगावै विघटन भन्नु र विघटन गराएको भन्नु फरक कुरा हो।’

भिडियाेः 

अहिलेको संविधानले विभिन्न चार अवस्थामा प्रधानमन्त्री बन्न सक्ने प्रावधान गरेको उल्लेख गर्दै उनले भने, ‘पहिलो सम्पूर्ण बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्ने, दोस्रो, दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउने, तेस्रो, अल्पमतको सरकारको परिकल्पना र एक जना व्यक्ति प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन सक्छु भनेर दावी ग¥यो भने भन्यो भने मौका दिन सक्ने व्यवस्थागरेको छ । यीमध्ये बहुमतको सरकारले अविश्वासको मत प्राप्त ग¥यो। अविश्वासबाट बहुमतको सरकार ढल्ने भएपछि वैकल्पिक सरकारको लागि प्रयास गर्नुपर्ने हुन्छ । त्यो पनि सम्भव भएन भने राष्ट्रपतिले त्यति बेला मात्रै विघटन गर्न सक्ने अवस्था हो । त्यसरी भएको विघटन भएको अवस्थालाई यो धाराले उल्लेख गरेको हो।’

देशमा संवैधानिक संकटको अवस्था आउन नदिन राष्ट्रपतिले प्रस्ताव रोक्न सक्ने पनि उनले बताए।

तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति प्रकरणमा गरेको प्रस्ताव पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्वीकार गरेको स्मरण गर्दै उनले ६ महिनापछि निर्वाचन गराउने वा प्रस्ताव अस्वीकार गर्ने भन्ने कुरा राष्ट्रपतिको हातमा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .