ad ad

राजनीति


नेकपा विवाद : नेताहरु भन्छन्– सहमतिको संकेत अझै देखिएन, अब बहुमतीय प्रक्रियामा जानसक्छ

नेकपा विवाद : नेताहरु भन्छन्– सहमतिको संकेत अझै देखिएन, अब बहुमतीय प्रक्रियामा जानसक्छ

सागर न्यौपाने
मंसिर १६, २०७७ मंगलबार १६:५६,

सत्तारुढ नेकपाको सचिवालयमा पार्टीका दुई अध्यक्षले पेस गरेका दुई छुट्टाछुट्टै राजनीतिक प्रस्तावहरुलाई बहुमतीय आधारमा निर्णय हुने परिस्थिति बन्दै गएको बताइएको छ।

मंगलबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आउने संकेत नदेखाएको ठहर गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुले दुवै प्रतिवेदनहरुलाई बहुमतीय प्रक्रियाबाट टुंगोमा पुर्‍याउन लागिएको बताए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र त्यसको जवाफमा ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि छलफल गर्न मंगलबार बैठक राखिएको थियो। तर, सो बैठकमा सहमति हुनुभन्दा आ–आफ्ना अडान कायम रहेपछि दुबै प्रतिवेदनबारेको निर्णय बहुमतीय आधारमा अघि बढ्नेतर्फ परिस्थिति विकास भएको सचिवालयका एक सदस्यले बताए।

भोलि (बुधबार)को बैठकमा अध्यक्ष ओलीको प्रस्तुति हेरेर सहमति वा बहुमतीय प्रक्रिया के हुने भन्ने निष्कर्ष निस्किने उनले बताए।

‘मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति झनै आक्रामक रह्यो। प्रतिवेदनमाथि छलफल गर्न उहाँ तयार भएर सकारात्मक रुपमा प्रस्तुत हुनुभएको भए परिस्थिति सहमतितर्फ उन्मुख हुने संभावना थियोे,’ ती सचिवालय सदस्यले भने।

ओलीले प्रचण्डको प्रतिवेदनबारे छलफल नै नगर्ने भन्दै फिर्ता लिनुपर्ने अडान नै दोहोर्‍याएका थिए। ‘यसले सहमति हुने संभावनालाई क्षीण बनाउँदै बहुमतीय प्रक्रियातर्फ धकेल्यो,’ उनले भने।

नौ सदस्यीय सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर उभिएका छन्। जसले गर्दा प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा परेका छन्।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट महशुस् गरिएको भन्दै मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले केही ‘कम्प्रोमाइज’ गर्नेगरी प्रस्तुत भएको भए वातावरण अर्कै हुने ती नेताले बताए।

‘अब भोलिको बैठकमा प्रधानमन्त्री कम्प्रोमाइज गर्नेगरी उपस्थित भए भने प्रतिवेदनमाथिको छलफल केही हदसम्म समाधानउन्मुख हुन सक्नेछ,’ उनले भने, ‘तर आजजस्तै कसैको कुरै नसुन्ने रवैया देखाएमा अब दुईवटै अध्यक्षका प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म पुग्नेछ र त्यहीँबाट एउटा निर्णय हुनेछ।’

नेकपाले १८ गते स्थायी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बुधबारको बैठकमा व्यवस्थित रुपमा तयारी गरेर सचिवालयका बहुमत सदस्य प्रस्तुत हुने स्रोतले जनाएको छ।

सोमबार दिनभर लगाएर कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा उठाएका प्रश्नहरुको लिखित जवाफ दिनेगरी पुरक प्रस्ताव तयार पारिसकेका छन्। प्रचण्डले पाँचै जना नेताको तर्फबाट प्रस्तुत गर्ने तयारीका साथ सो प्रस्ताव तयार पारेका हुन्।

मंगलबारको बैठकमै पुरक प्रस्ताव पेस गर्ने तयारीमा रहेका उनी ओलीको सुरुकै प्रस्तुतिपछि थप गृहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेर रोकिएको स्रोतको दाबी छ।

‘उहाँले पार्टी कमिटीको बैठकमा व्यवस्थित र श्रृंखलाबद्ध रुपमा प्रस्तुत हुनेगरी भोलिको बैठकको तयारी गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली अझै पनि मिल्नेगरी सहमतिमा आउनुहुन्छ कि भन्ने अपेक्षा उहाँहरुको छ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भोलिको बैठक अघि अनौपचारिक संवाद हुने जानकारी दिए।

‘भोलिको सचिवालय बैठकअघि नेताहरुसँग अनौपचारिक संवाद हुनेछ’, उनले भने।

बहुमतीय प्रक्रियाबाट प्रतिवेदनबारे निर्णय हुने संकेत पाएका ओलीले त्यसलाई नमान्ने भनी मंगलबारको बैठकमै स्पष्ट पारेका छन्।

‘निर्णय बहुमत, अल्पमतबाट हुनसक्छ’, बैठकमा ओलीले भनेका थिए, ‘तर, त्यो वहन (स्वीकार्य) हुन सक्तैन।’

ओलीले त्यसो भनेपछि वरिष्ठ नेता नेपालले धारणा राख्ने क्रममा सो कुराको प्रतिवाद गरेका थिए।

‘पार्टीभित्र आफ्ना विचार नमान्दा मैले नोट अफ डिसेन्ट लेखेर भएपनि पार्टी निर्णय मानेको थिएँ, तपाईंले नमान्ने भन्ने हुँदैन,’ नेपालले भनेका थिए।

उनले ओलीलाई पाँच जनाको बहुमतका आधारमा मात्र पेल्न खोजेको भन्ने भ्रममा नपर्न सुझाव नै दिएका थिए।

‘हामी सचिवालयका पाँचजनामात्र तपाईको विरोधमा छौं भन्ने भ्रममा नपर्नुस्, तपाईंभित्रको दम्भ, घमण्ड र अहंकारले थुप्रै नेताहरु तपाईंप्रति असन्तुष्ट छन्, त्यस्ता कुराहरु त्याग्नोस्,’ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

नेता नेपालले प्रचण्ड र आफूले मात्रै पार्टी एकता गरेको भन्ने नठान्न सुझाव दिएका थिए।

‘प्रचण्ड र तपाईले मात्र पार्टी एकता गरेको .नठान्नुस्,’ नेता नेपालले ओलीलाई भने, ‘एकताको पहलकदमी तपाईहरुले लिनुभएको हो, त्यसलाई हामी सबैले मानेकै छौैं तर एकता प्रक्रियामा हाम्रो पनि साथ, समर्थन र योगदान छ।’

त्यसपछि ईश्वर पोखरेल बोलेका थिए।

पोखरेलले अहिले नेताहरुबीच बढ्दो अविश्वासको अवस्था रहेको हुँदा बिभिन्न तहमा अनौपचारिक छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए।

त्यसलाई ओलीले पनि स्वीकारेका थिए। पार्टीका नेताहरुबीच संवादहीनताको अवस्था रहेको कुरा ओलीले पनि औल्याएका थिए।

असहमतिका बीच पनि प्रायः दैनिकजसो बालुवाटारमा एक्लाएक्लै भेटवार्ता गर्ने गरेका दुई अध्यक्षबीच केहि सातायता आपसी भेटघाट तथा प्रत्यक्ष संवाद टुटेको छ।

मंगलबारको बैठकमा ओलीले सुरुमै आफूले खाना पनि नखाएको र बैठकमा बस्नुको पनि कुनै अर्थ नरहेको भन्दै छलफलबाट पन्छिन खोजेको एक सचिवालय सदस्यले बताए।

प्रचण्डले आगामी बैठकमा ओलीले उठाएका व्यक्तिगत प्रश्नहरुको जवाफ लिखित रुपमा दिने बताएका छन्।

मंगलबार बसेको बैठकमा ओलीले सुरुमै प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभई कुनै छलफल नगर्ने अडान लिएपछि त्यसको जवाफ दिँदै प्रचण्डले आगामी बैठकमा अर्काे पुरक लिखित प्रस्ताव पेस गर्न लागेको जानकारी दिएको एक सचिवालय सदस्यले बताए।

‘प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्तावमा धेरै गम्भीर आरोप लगाइएको र त्यसलाई सचिवालयमा छलफल गर्न नसक्ने भन्दै फिर्ता लिनुपर्ने अडान लिएपछि प्रचण्डले प्रस्ताव कुनैपनि हालतमा फिर्ता नहुने बरु ओलीले आफूमाथि व्यक्तिगत रुपमा लगाएका प्रश्नहरुको लिखित रुपमा जवाफ सहितको पुरक प्रस्ताव अर्काे बैठकमा पेस गर्न लागेको जानकारी दिनुभयो,’ सचिवालयका ती नेताले नेपालखबरसँग भने।

एक सचिवालय सदस्यका अनुुसार बैठकमा प्रतिवेदनका विषयलाई लिएर ओली र प्रचण्डबीच चर्काचर्की नै परेको थियो।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनमा आफूलाई गम्भीर खालका आरोप लगाइएको र त्यसबारेमा बैठकमा छलफल समेत हुन नसक्ने बताएका थिए।

‘प्रचण्डजीको लान्छनाले भरिएको प्रस्तावमाथि छलफल हुनै सक्तैन, उहाँले माफी माग्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती सचिवालयका नेताले बताए।

जवाफमा प्रचण्डले पार्टीमा देखिएको विवादप्रति आफूहरु गम्भीर रहेको र छलफलबाटै समस्या समाधान गर्न लागेकोले कमिटीमा दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निकास दिनुपर्नेमा जोड दिएका थिए।

अर्का सचिवालयका सदस्यले मंगलबारको बैठकलाई निकै तनावपूर्ण बनेको बताए।

दुई अध्यक्षबीच भनाभन भएपछि सचिवालयका अरु नेताहरुले बोल्न थालेका थिए। वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले कमिटीमा आइसकेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने धारणा राखेका थिए।

‘ओलीजीमा म नै सबथोक हुँ भन्ने अहंकार हटेन’
कार्यकारी अध्यक्ष प्रचण्डले मंगलबारको बैठकमा पनि ओलीप्रति तीव्र रोष प्रकट गरेका थिए।

‘प्रधानमन्त्री ओलीजीमा आफू नै सबैथोक हुँ भन्ने अहंकार विद्यमान रहेको देखियो, आइएम द स्टेट भने जसरी उहाँ प्रस्तुत हुनुभयो, फरक विचारमाथि छलफल नै गर्दिन भन्नु कसरी न्यायोचित हुन्छ,’ प्रचण्डले ओलीको प्रस्तुतिपछि भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .