नेकपाको आन्तरिक विवाद थप बल्झिँदै गएपछि पार्टीको संकट समाधानका लागि नेताहरुबीच संवाद र अन्तरक्रिया बढाइने भएको छ।
दुई अध्यक्षबाट एकपछि अर्को प्रस्ताव आएपछि विवाद थप पेचिलो बन्दै गएका बेला नेताहरुले संवादबाटै समाधानका उपाय खोज्ने समझदारी गरिएको बताएका छन्।
‘औपचारिक बैठकका साथै यहि बीचमा नेताहरुबीच छलफल, अन्तरक्रिया र संवाद जारी राख्नु उचित हुने बैठकले ठानेको छ,’ मंगलबारको सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
एक सचिवालय सदस्यका अनुसार साे बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभई कुनै छलफल नगर्ने अडान लिएका थिए।
‘उहाँले प्रचण्डको प्रस्ताव फिर्ता नभई छलफल गर्नुको अर्थ नभएको बताउनुभयो,’ ती सचिवालय सदस्यले भने, ‘सचिवालयका बहुमत सदस्यले प्रतिवेदनमाथि छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नुपर्ने बताएपछि बल्ल छलफलको सुरुवात भयो।’
आज मंगलबारको बैठकमा पनि ओलीले प्रस्ताव फिर्ता गर्न नै जोड गरेको ती सचिवालय सदस्यले बताए।
‘मुख्यतः दुईजना अध्यक्षले नै धारणा राख्नुभयो, त्यसमा प्रधानमन्त्रीको जोड प्रचण्डको प्रतिवेदन फिर्ता गर्नुपर्छ भन्नेमै थियो,’ स्रोतको भनाइ छ।
तर, बहुमत सचिवालयका सदस्यले त्यसलाई अस्वीकार गरेको उनले बताए।
पार्टी कमिटीमा प्रवेश गरेको दस्तावेज कसैले चाहदैमा वा कसैलाई मन नपर्दैमा फिर्ता गर्न नमिल्ने र त्यसमाथि घनिभूत छलफल हुनुपर्ने भनी सचिवालयका बहुमत सदस्यहरुले धारणा राखेका थिए।
ओली बोलेपछि कार्यकारी अध्यक्ष प्रचण्डले आफ्ना धारणा राखेका थिए। ओलीले प्रतिवेदनमा लगाएको जवाफी आरोपबारे उनले जवाफ दिएका थिए।
त्यसपछि भोलि बुधबारको बैठक बस्नुअघि नेताहरुबीच औपचारिक र अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सचिवालयको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ। त्यसबाहेक सहमतिको प्रयासका लागि नेताहरुले अनौपचारिक रुपमा वार्ता र संवादलाई पनि तिब्र पार्ने बताएका छन्।
कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावपछि अर्का अध्यक्ष ओलीसँग औपचारिक संवाद हुन सकेको थिएन।
मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डलाई पार्टी एकता अघिका घटना र प्रसंग समेत जोडेर जवाफी प्रतिवेदन ल्याएपछि बालुवाटार र खुमलटारको सम्बन्ध झनै तिक्ततापूर्ण बन्दै गएको हो।
नेताहरुबीच संगीन आरोप प्रत्यारोप जारी रहेपछि पार्टी फुट हुनसक्ने संभावना बढ्दै गएको आकलन गरिएको थियो। त्यसैले पार्टी एकता जोगाइराख्न फेरि संवाद र छलफल गरेर सहमतिको प्रयास गरिन लागेको श्रेष्ठको भनाइ छ।
आज (मंगलबार)को बैठकमा मुख्यतः अध्यक्षद्वय ओली र प्रचण्डले नै धारणा राखेका थिए।
सचिवालयका अन्य सदस्यहरुले प्रतिवेदनमा केन्द्रित भई छलफल गर्न जाेड गरेपछि विषयकेन्द्रित भएर नेताहरुले आफ्ना धारणा राखेका थिए। श्रेष्ठका अनुसार भोलि पनि छलफल जारी रहनेछ।
नाै सदस्य रहेकाे सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर उभिदा प्रधानमन्त्री समेत रहेका ओली अल्पमतमा परेका छन्।
कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावपछि मंसिर ३ गते बसेको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा उठाइएका विषयको खण्डन गर्दै आफूले जवाफी प्रतिवेदन ल्याउन १० दिनको समय लिएका थिए। साेहिअनुसार मंसिर १३ गते बसेको बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए।
तर, सो प्रतिवेदन पार्टी एकता हुनु अघिका र प्रचण्डका व्यक्तिगत प्रसङ्गमा केन्द्रित भएको भन्दै सचिवालयका पाँच नेताले ओलीलाई जवाफ दिने तयारी गरेका थिए।

प्रतिक्रिया