राजनीति


नेकपा सचिवालयको अर्को बैठक १० दिन स्थगित गर्न यसरी जुटेकाे थियाे सहमति

नेकपा सचिवालयको अर्को बैठक १० दिन स्थगित गर्न यसरी जुटेकाे थियाे सहमति

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ११:१५,

प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले समय माग गरेपछि सो पार्टीको केन्द्रीय सचिवालयको बैठक १० दिनका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमा आफूलाई लगाएका आरोपमको एक एक जवाफ दिनका लागि समय माग गरेपछि बैठक स्थगित गरिएको सचिवालयका एक सदस्यले बताए।

‘ममाथि धेरै ठूला आरोपहरु लगाइएको छ,’ बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘त्यसको प्रतिवाद गर्नुपर्छ, त्यसलाई लेख्नुपर्छ, अहिलेसम्म लेख्न समय पाएको छैन, म एक एक शब्दको प्रतिवाद गरेर लेख्छु, त्यही भएर मलाई समय चाहिन्छ।’

त्यसपछि सचिवालयका अन्य सदस्यहरुले कति दिनको समय चाहिन्छ भनि सोधेका थिए। ‘७ दिन भए पुग्छ?’ भनी सोध्दा प्रधानमन्त्री ओलीले ‘पुग्दैन, निकै नै गम्भीर कुराको जवाफ दिनुपर्छ, समय लाग्छ’ भनेपछि १० दिनपछि बैठक तोकिएको थियो।

‘१० दिनमा लेखिसक्छु,’ ओलीले भनेका थिए।

तर, त्यही बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको पक्षमा रहेका सचिवालयका अन्य नेताहरुले सोहि बैठकबाटै स्थायी र केन्द्रीय कमिटीको बैठकको पनि मिति तोक्न प्रस्ताव गरेका थिए।

अनि सचिवालय बैठकमा ओलीले समेत पेस गर्ने प्रचण्डको राजनीतिक प्रस्तावको जवाफ र शुक्रबारको बैठकमा पेश भएको तीनवटा पत्र समेत छलफल गर्नको लागि समयसहित राखेर १८ गते स्थायी समितिको बैठकको मिति तय गरिएको सचिवालयका ती सदस्यले नेपालखबरसँग बताए।

‘नेकपा केन्द्रीय समितिको बैठक मंसिर १५ गतेको लागि तोकिएको थियो तर त्यही बेलामा सचिवालय बैठकमा दुई अध्यक्षको राजनीतिक प्रस्ताव र जवाफमाथि छलफल गर्दा केन्द्रीय समितिको बैठक प्रभावित हुने भएकोले त्यसलाई स्थायी समितिको बैठकपछि सार्न सुझाव दियौं र मंसिर २५ गतेका लागि तय पनि गर्‍यौं।’

‘तीन वर्षदेखिको पीडा त्यतिकै छोड्ने कुरै आउदैन’
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले तीन वर्षदेखि पार्टीमा एकलौटी गर्दै आएको, अरु कसैको कुरा नसुनेको र सरकार सञ्चालनमा पूर्णतः असफल भएको कारण अब यो विषयलाई निर्णायक मोडमा पु¥याउने अर्का एक सचिवालय सदस्यले बताए।

‘हामीले तीन वर्षसम्म पीडा खपेर बसेका छौं, हाम्रो अडान भनेको कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको सामूहिक राजनीतिक प्रस्ताव बमोजिम ओलीको कुनै एक पदबाट राजीनामा नै हो,’ ती नेताले भने, ‘१० दिनपछि बस्ने बैठकमा उनले जे जसरी जवाफ लेखे पनि हामी पाँच नेता यताउता हुने संभावना छैन।’

आजको बैठकमा सबै उपस्थित भएर छलफल गर्ने ठाउँमा पुगेको र आगामी दिनको बैठकले एउटा निर्णयमा पुगिने ती नेता बताउँछन्।
‘अबका बैठकमा गम्भीर छलफल गरेर एउटा निचोड र निष्कर्षमा पुग्नेछौं,’ उनले भने।

भदौ २६ गते स्थायी समितिको बैठकले गरेको निर्णयलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको भन्दै कार्यकारी अध्यक्षसहितका पाँच नेता एकातर्फ उभिएका छन् भने अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलले साथ दिएका छन्। सरकारमा रहेकाले गृहमन्त्री रामबहादुर थापा पनि प्रधानमन्त्री ओलीतिरै छन्।

सचिवालयका बहुमत सदस्य एकातिर लागेपछि अल्पमतमा परेका ओलीले बुधबारको बैठक नराख्न र प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ताको लागि तीनदिन गरेको प्रयास सफल नभएपछि आजको सचिवालय बैठकमा उपस्थित भएर आफूले लिखित जवाफ ल्याउने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad