ad ad

राजनीति


‘कोरोना सरुवा रोग मात्रै हो कि महामारी हो प्रष्ट पार्नु पर्‍यो’

‘कोरोना सरुवा रोग मात्रै हो कि महामारी हो प्रष्ट पार्नु पर्‍यो’

नेपालखबर
असोज ८, २०७७ बिहिबार १२:४२,

 सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन्।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन्।

सांसद रामचन्द्र राईले कोरोना महामारी हो कि सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए। स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी बैठकमा उनले सरुवा रोग मात्रै हो भने कोकोहोलो किन गर्नुपरेको भन्दै प्रश्न गरे। महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उनले बताए।

सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पीसीआर परीक्षण गर्ने नीति ठिक नभएको बताइन्। संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने दर बढी हुने भएकाले लक्षण देखिएमात्रै परीक्षण गर्ने नीति ठिक नभएको उनले बताइन्। परीक्षणमा भएको खर्चभन्दा पनि जनताको स्वास्थ्य ठूलो कुरा भएको उनले बताए।

सांसद गोपीबहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताए। आतंक सिर्जना हुने गरी भएको प्रचारले आम मानिसमा मनोवैज्ञानिक असर गरेको उनले बताए।

सांसद शेखर कुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्ने बताए।

सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन्। कोभिड १९ संक्रमणको जोखिम नेपालमा पनि हुन्छ भन्ने थाहा भए पनि रोकथामका लागि सरकार र संसदले आवश्यक योजना बनाउन नसकेको उनको भनाइ थियो।

सांसद खिमलाल भट्टराईले पछिल्लो समय समाजमा लकडाउनको आतंक फैलिएकोले अब लक डाउन गर्न नपर्ने गरी प्रोटोकल बनाउनुपर्ने बताए।

 छलफलमा सहभागी मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटरभन्दा अक्सिजनको उपचार विधि लाभदायिक देखिएको बताए। आयुर्वेदिक औषधिको परीक्षण र प्रयोग नेपालमा पनि भइरहेको सन्दर्भमा ७, ८ दिनमा रिपोर्ट नेगेटिभ आउने गरेको उपचारमा संलग्न व्यक्तिहरुले रिपोर्ट गर्ने गरेको उनले बताए। पालिकाहरुमा स्थापना हुने अस्पतालहरुमा छात्रवृतिमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक पालिकामा १ जना चिकित्सकको व्यवस्था गर्नेगरी योजना अगाडि बढेको उनले बताए।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन भारत, रसिया र चीन लगायतका मुलुकसँग दुईपक्षीय कुराकानी भइरहेको बताए। चिकित्सकहरुको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधि अनुसार वितरण भइरहेको उनले बताए।

नेपाली वैज्ञानिकहरुले भ्याक्सिन पत्ता लगाएको अवस्थामा पनि सुरुवाती चरणमा अन्य देशहरुको भ्याक्सिन नै प्रयोग हुने उनले बताए। भ्याक्सिन पत्ता लागेपछि परीक्षणमा बढी समय लाग्ने भएकाले पनि तत्कालिन अवस्थामा अन्य देशहरुले बनाएको भ्याक्सिन नै प्रयोगमा आउने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .