राजनीति


बीपीको गाडी ताकेर जब प्रहरीले फायर खोल्यो

बीपीको गाडी ताकेर जब प्रहरीले फायर खोल्यो

वाशुदेव मिश्र
साउन ६, २०७६ सोमबार ८:५५,

राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणासँगै बहुदलवादीहरु उत्साहित बने। बीपी कोइराला नेतृत्वमा रहेको नेपाली कांग्रेसले बहुदलका पक्षमा देशव्यापी प्रचार अभियान थाल्यो। प्रचार अभियानका लागि वीपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, गिरिजाप्रसाद कोइरालाहरु देश दौडाहामा निस्के।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा पञ्चायतलाई जिताउन साम, दाम,दण्ड, भेदसहित लागिपरेका थिए। उनकै निर्देशनमा देश दौडाहाम निस्केका कांग्रेसका नेता कार्यकर्ताहरुलाई प्रशासनले ठाउँ ठाउँमा अवरोध गर्‍यो। पञ्चायत कार्यकर्ता प्रशासनको संरक्षणमा भौतिक आक्रमणमै उत्रिए। सशस्त्र संघर्षको नेतृत्व गरी सफलता र असफलता दुवै भोगेका बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछिको पहिलो पटक जन परीक्षामा होमिँदै थिए।

त्यतिबेला उनलाई घाँटीको क्यान्सरले गाँजिसकेको थियो। स्वर सानो भएको थियो। शरीर कमजोर थियो। तर आत्मबल सगरमाथाजस्तै उँचो र बलियो। उनी आफैँ चुनावी कमाण्ड सम्हाल्दै देशभर हिँडे। चुनाब मिति नजिकिँदै थियो। त्यही क्रममा उनी स्याङ्जाको राङखोलामा आयोजित सभालाई सम्बोधन गर्न आउने निर्णय भयो। यही मेसोमा पोखरामा पनि सम्वोधन गर्ने तालिका बन्यो। त्यो बेला कास्की कांग्रेसका सभापति धीरबहादुर गुरुङ थिए।

उनको तेर्सापट्टीस्थित घरमा कांग्रेस बैठक बस्यो। ‘वीपीको स्वर सानो छ, स्वर ठूलो बनाउने एम्प्लिफायर चाहिन्छ भन्ने कुरा भयो’, त्यो बेला कांग्रेस कास्कीका सदस्य रहेका शंकर देवकोटा सुनाउँछन्, ‘त्यतिबेला पोखरा बजारमा अहिलेजस्तो माइक्रोफोन पाइँदैनथ्यो, एम्प्लिफायर लिन इण्डिया जाने निर्णय भयो।’ एम्प्लिफायर किन्न पैसा जम्मा गर्ने कुरा भयो। त्यो बेलाका चर्चित व्यापारी अमृतप्रसाद सेरचनले अलि बढी पैसा दिए। सामान किनेर ल्याउने जिम्मा शंकर, तारानाथ रानाभाट र शुक्रराज शर्मालाई दिइयो। तर भारत जानेबेला शंकर एक्लै परे। गोरखपुरमा भनेजस्तो एम्प्लिफायर पाइएन।

उनी दिल्ली पुगे। एम्प्लिफायरसहित स्ट्याण्ड बोकेर फर्किए। बीपीको उपस्थिति बिथोल्न पञ्चायतले अनेक प्रपञ्च गरिरह्यो। उनी २०३६ साल असोज ८ गते बिहान पोखरा विमानस्थल ओर्लिए। त्यहाँ छेउमा जम्मा भएका शुभेच्छुकहरु माझ बहुदल किन आवश्यक छ? भन्नेबारे व्याख्यान दिए। चुनावमा होमिन कार्यकर्तालाइ निर्देशन दिए। जानु थियो, स्याङ्जा। पोखराबाटै कांग्रेसीहरु उनको पछि लागे।

त्यो बेला पोखरामा कमै मान्छेसँग मोटर थिए। कांग्रेसका मीनबहादुर गुरुङ र कालीबहादुर अधिकारीसँग गाडी थियो। बीपीलाई कालीबहादुर अधिकारीको १०४ नम्बरको गाडीमा बसाइयो। कार्यकर्ताहरु गाडीको अघिअघि बसमा स्याङ्जातिर लागे। गाडीमा चढ्नेहरु शंकरसहित पोखरामा तत्कालीन युवा कल्याण पालिखे, सुवर्ण कायस्थ, किरण श्रेष्ठ, अरिविन्द श्रेय,वसन्त थकाली, सिन्धु श्रेष्ठलगायतका थिए। 

अहिलेको स्याङ्जा सदरमुकाम पुग्नासाथ प्रहरीचौकीको आडबाट पञ्चायत समर्थकले ढुंगामुढा गरे। अघिल्लो बसमा भएकामध्ये कल्याण पालिखेको टाउकोमा ढुंगाले लाग्यो। उनी घाइते भए। ‘त्यो बेला जोस थियो, हामीले त्यहाँ भएका मण्डलेहरुलाई लखेट्यौँ', घटना सम्झँदै कल्याण भन्छन्, ‘पछि मलाई बीपीले आफ्नै गाडीमा राख्नुभयो, हामी राङखोला पुग्यौँ। त्यहाँ पनि बिथोल्न खोज्नेहरुलाई हामीले नियन्त्रण गर्‍यौँ।’

kalyan palikheकल्याण पालिखे

५९ वर्षे कल्याणलाइ त्यहाँ बीपीले भाषण गरेको याद छैन। ‘हामी त त्यो बेला जसरी पनि वीपीलाई सुरक्षा दिनुपर्छ भन्ने ध्याउन्नमा मात्रै थियौँ’, उनी भन्छन्।

आमसभा सकिएपछि बीपीसँगै शंकर र कल्याणहरु फर्किए। स्याङ्जा सदरमुकाम नजिक आउनलाग्दा माथि भीरबाट फेरि ढुंगामुढा भयो। आँटिला युवा भीरमै चढेर पञ्चहरुलाई लखेटे। स्याङ्जा सदरमुकाम आउँदा फेरि आक्रमण भयो। यो पटक आक्रमणकारीहरु प्रहरी चौकीभित्रै थिए। उनीहरुले ढुंगामुढा गरे। प्रहरीले त्यही छेकोमा बीपीकै गाडी ताकेर गोली चलायो। उनीसँगै यात्रामा रहेका लमजुङका तारानाथ कोइराला सरासर अगाडि बढे। बीपीलाई बचाउन गोली थाप्न तयार उनको खुट्टामा पुलिसले हानेको गोली लाग्यो। उनी जीवनभर अपाङ्ग भए। तत्कालीन लमजुङ कांग्रेसको संस्थापक सभापति रहेका उनको ७४ वर्षको उमेरमा गएको पुसमा निधन भयो। २०३७ वैशाख २० गते जनमत संग्रह हुँदासम्म युवा सक्रिय नै थिए।

त्यो मुठभेडमा शंकरमाथि पनि चिर्पटले आक्रमण भएको थियो। उनी ढले र तर गम्भीर घाइते भएनन्। २०३६ सालको जनमत संग्रहमा  बहुदलले हार्‍यो। युवा निरास भए। ठाउँठाउँमा गरिएको अवरोध, आफूहरुमाथि भएको आक्रमणको दरिलो प्रतिवाद गर्न नसक्दा र बीपीले सूर्यबहादुरलाई प्रधानमन्त्रीको रुपमा स्वीकार्दा परिणाम यस्तो आएको उनीहरुको बुझाइ रह्यो।

गणेशमान सिंह पनि यही मत राख्थे। उनीहरु आफूहरुसँग पनि हतियार भएको भए सहजै चुनाव जित्ने विश्वास राख्थे। यता कल्याणसहितका युवालाई प्रहरीले पक्राउपूर्जी जारी गरिएको थियो। ‘जहाँ भेटे पनि गोली ठोक्नू’ भन्ने आदेश भएको हल्ला थियो। कल्याणहरु बीपी भेट्न उनको ताहचल निवास गए। ‘हामीले त्यो बेला सुरक्षाको लागि हतियार माग्यौँ’, कल्याणले सम्झन्छन्,‘तर आधा घण्टा समय लिएर गएका हामीसँग उहाँले झण्डै २ घण्टा कुरा गर्नुभयो, सम्झाउनुभयो र कसैको गुलाम बनेर हतियार माग्न नसक्ने बताउनुभयो।’

कल्याणका अनुसार बीपीले त्यो बेला सशस्त्र संघर्ष र शान्तिपूर्ण संघर्षको फरक बताउँदै ‘एकदिन सबैको पालो आउने’ भन्दै युवालाई सम्झाएका थिए। ‘हामी उहाँको कुरा सुनेर छक्क पर्याैं’, कल्याण भन्छन्, ‘त्यसपछि म वारेण्ट छल्ल केही समय कास्मिर गएँ। केही साथी नागाल्याण्ड त कोही कतै गए।’

कल्याणसँगजस्तै जोस थियो, शंकरसँग पनि। उनीहरुले सुरुमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मा लगायतका नेतालाई भेटे। श्रीभद्रले उनीहरुलाई ‘बीपीले सूर्यबहादुरलाई प्रधानमन्त्री बन्दा हामीले हारेको हो’ भन्ने कुरा सुनाए। भेट्ने पालो अब बीपीसँगै थियो।

७३ वर्षीय शंकरसँग बीपीलाई ताहचलमै भेटेको सम्झना छ। ‘त्यहाँ उहाँलाई पत्रकार र अरु थुप्रै मान्छेले घेरेका थिए। मैले सोझै तपाईँले सूर्यबहादुरलाई प्रधानमन्त्री मानेर हामीले हारेको हो भनेँ’, उनी भन्छन्,  'उहाँ झोक्किनु भयो। तिमीहरु नबुझी कुरा गर्छौ भन्नुभयो। बीपीसँग डिस्कस परेपछि म आत्तिएँ। र त्यहाँबाट लुसुक्क निस्किएँ।’

sankar devkotaशंकर देवकोटा।

निरास उनी राजधानीमै रहेका साथीहरुको डेरामा बस्न थाले। बीपीले शंकरलाई ‘नोट’ गरेका रहेछन्। पछि खोजी गरेछन्। तत्कालीन तरुण दलका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीसँग सोधपूछ गरेछन्।केही पत्ता लागेनछ। महामन्त्री महादेव गुरुङलाई शंकरको खोजी गर्न अह्राएछन्। ‘हामी पश्चिम र पोखराकै मान्छे, महादेवले शंकर बस्ने ठाउँ मलाई थाहा छ भनेछन्। उनले आएर बीपीले बोलाउनु भएको छ भनेर सुनाए’, शंकर भन्छन्, ‘म उहाँ कहाँ जाँदा उहाँ, नोना भाउजु, गिरिजाहरू कालो चिया र भुटेको चिउरा खाँदै हुनुहुन्थ्यो।’

वीपीले शंकरलाई आफैसँग बसाले र चिया, च्यूराखाँदै गफ गरे। उनलाई सम्झाए अनि गिरिजातिर फर्केर भने,‘ यो शंकरलाई तिमीले सधैँ माया गर्नू।’ शंकरको बुझाईमा वीपीसँग मान्छे चिन्ने क्षमता थियो। उनी नेता थिए, महान थिए र कार्यकर्ताको भावना बुझ्थे।

‘उहाँ आफ्नो कार्यकर्ताले गफ दिएको, चाकडी गरेको वा साँच्चै कुरा बोलेको हो भन्ने ठ्याक्कै बुझ्नुहुन्थ्यो’, उनी भन्छन्। कल्याणको स्मृतिबाट पनि वीपीसँगको भेट मेटिएको छैन। उनले पनि ३७ औँ स्मृति दिवस अर्थात २०७६ साल साउन ६ गते बिहानको कुराकानीमा दोहोर्‍याए,‘उहाँ साँच्चै मनको कुरा बुझ्नुहन्थ्यो।’

त्यसो त दिवंगत भइसकेका कांग्रेस नेता तारानाथ कोइरालाले सञ्चारकर्मीसँग एक पटक भनेका थिए, ‘वीपी अनुहार हेरेर नै कार्यकर्ता यस्तो छ भनेर बुझ्नुहुन्थ्यो, त्यसैले उहाँ महान हुनुहन्थ्यो।’

त्यो बेला वीपीसँग बिताएको समय सम्झेर पुलकित हुने शंकर र कल्याण अहिले सक्रिय राजनीतिमा छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .