राजनीति


चीनले भन्योः हामी पहिलेको सोभियत संघ होइनौँ, अहिलेको अमेरिका पनि बन्न चाहन्नौँ

चीनले भन्योः हामी पहिलेको सोभियत संघ होइनौँ, अहिलेको अमेरिका पनि बन्न चाहन्नौँ

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १२:६,

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आफ्नो मुलुक अमेरिकालाई विस्थापित गर्ने प्रयासमा नभएको स्पष्ट पारेका छन्।

यद्यपि चीनले गएको चार दशककै सबैभन्दा कठिन चुनौती बेहोरिरहेको उनले बताए।

‘आजको चीन पहिलेको सोभियत संघ होइन। हाम्रो अर्को अमेरिका बन्ने चाहना पनि छैन। चीनले विचारधारा निर्यात गर्दैन र अन्य मुलुकको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गर्दैन,’ वाङले सिन्ह्वासँगको अन्तर्वार्तामा भनेका छन्।

‘हाम्रो सन्देश स्पष्ट छः हामी अमेरिकालाई अहंकार र पूर्वाग्रहपूर्वक कदम नचाल्न आग्रह गछौँ,’ उनले भनेका छन्।

वाङको अन्तर्वार्तालाई गत महिना अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भाषणको जवाफ मानिएको छ। जुलाई २३ मा पम्पियोले चिनियाँ कम्युनिस्ट पार्टी स्वतन्त्र विश्वका लागि सबैभन्दा ठूलो खतरा भएको दाबी गरेका थिए। उनले चीनसँग हालसम्मको सम्बन्ध विस्तार असफल भएको घोषणा समेत गरेका थिए।

वाङको पम्पियोको आलोजनालाई खारेज गर्दै चीन अर्को शीतयुद्ध सुरु गर्न तयार नभएको बताए।

‘हामी कूटनीतिक लडाइँ गर्न इच्छुक छैनौँ तर आइलाग्नेमाथि जाइलाग्न डराउँदैनौँ,’ उनले भने।

पछिल्लो समय अमेरिका र चीनबीच तनाव लगातार बढिरहेको छ। हालै अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्यदूतावास बन्द गराएपछि त्यसको जवाफमा चीनले छेन्दुमा रहेको वाणिज्यदूतावास बन्द गराएको थियो।

चीन नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रतीक्षामा रहेको कतिपयको विश्लेषण छ। राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भए अमेरिकाले चीनविरुद्ध लिएको शत्रुतापूर्ण नीतिमा परिवर्तन हुने अपेक्षा चिनियाँ नेताहरुमा रहेको उनीहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .