सत्तारुढ नेकपाभित्र चुलिएको विवाद मिलाउन दोस्रो तहका नेताहरुले फेरि सक्रियता बढाएका छन्।
पटक पटक स्थायी कमिटीको बैठक सारिएपछि बिहीबार दोस्रो तहका नेताहरुले सिंहदरबारमा दोस्रो पटक छलफल गरेका हुन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल साढे दुईघण्टा चलेको थियो।
छलफलमा सडकमा निकालिएका जुलुश र प्रदर्शन रोक्न सुझाव दिने निर्णय भएको छ।
बिभिन्न समुहले काठमाडौं र बाहिरी जिल्लाहरुमा प्रधानमन्त्रीको पक्षमा जुलुस सभा गरिरहेका छन्।
त्यस्तै प्रधानमन्त्रीलाई हटाउने योजनासहित हस्ताक्षर संकलन भइरहेको भनिएकोमा त्यस्तो अभियान पनि रोक्न आग्रह गरेको एक नेताले बताए।
‘हामीले सडकमा प्रधानमन्त्रीको पक्षमा भइरहेको प्रदर्शन रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्ने समझदारी गरेका छौं,’ छलफलमा सहभागी एक नेताले भने, ‘अहिले भइरहेको भनिएको हस्ताक्षर संकलन पनि रोक्नपर्ने हामीले समझदारी बनायौं।’
सो समझदारीलाई कृषिमन्त्री घनश्याम भुसालले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई र खुमलटार पुगेर प्रचण्डलाई बुझाउने छन्।
यसअघि बसेको बैठकले दुई अध्यक्षबीचमा वार्ता गर्नको लागि जारी बैठक स्थगित गर्नुपर्ने सुझाव दिएको थियो।
ती नेताका अनुसार अघिल्लो बैठकले पार्टी नेतृत्वलाई सहमति गर्न दबाब सिर्जना गरेको र पार्टीपंक्तिमा पार्टी एकता जोगाउनेबारे सकारात्मक सन्देश दिएको निष्कर्ष निकालेको थियो।
छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी थिए।
प्रतिक्रिया