उपराष्ट्रपति नन्दबहादुर पुनले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता एकोमा उनीहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उनले बेपत्ताहरुको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
साथै, बाढी–पहिरोको कारण विस्थापित भएकाहरुका लागि उचित राहत र घाइतेहरुको गुणस्तरीय स्वास्थ्य उपचारका लागि ध्यानाकर्षण गराएका छन्।
उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहँदा वर्षा सुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्व तयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन्। उनले विगत केही दिन यता देशका विभिन्न भागमा बाढी–पहिरोका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया