ad ad

राजनीति


भारतीय सीमा नजिक हतियारले भरिएका गाडीसहित हजारौं चिनियाँ सेना परिचालन

भारतीय सीमा नजिक हतियारले भरिएका गाडीसहित हजारौं चिनियाँ सेना परिचालन

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ५:२३,

चीनले भारतको सीमा नजिक हतियारले भरिएका गाडीसहित हजारौं सेना परिचालन गरेको छ। हालै हुपेइ प्रान्तमा गरिएको सैन्य अभ्यास लगत्तै चीनले आफ्नो सेना भारतीय सिमानामा तैनाथ गर्न थालेको हो।

चीनका हजारौं सेना र हतियार सम्पन्न गाडीहरु हुपेइ प्रान्तबाट हाल भारतसँग विवाद भइरहेको लद्दाखको सीमा क्षेत्रमा पुगेका हुन्।

चीन र भारतबीच पछिल्ला केही हप्तादेखि कास्मिरको लद्दाख क्षेत्रमा सीमा विवाद बढेको छ। त्यो क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच तनाव बढेसँगै गत शनिबार सेनास्तरीय वार्ता भएको थियो। सोही दिन चिनियाँ जनमुक्ति सेनाले मध्य चीनको हुपेइमा सैन्य अभ्यास गरेका थिए, जसलाई चीनको सरकारी सीसीटीभीले सार्वजनिक गरेको थियो।

मे महिनाको सुरुदेखि चिनियाँ र भारतीय सेनाहरु लद्दाख नजिकको विवादित सीमा क्षेत्रमा आमनेसामने भएका छन्। त्यहाँ झडपकै अवस्था निम्तिएको छ। गलवान उपत्यका र पेङगोङ ताल दुवै भारत र चीनको सिमानामा पर्छ। दुवै देशले यी क्षेत्र आफ्नो भएको दाबी गर्छन्।

चीनले विवादित क्षेत्रमा गतिविधि बढाएको आरोप लगाउँदै भारतले त्यहाँ आफ्नो सैन्य शक्ति थपेको छ। चीनले पनि भारतीय पक्षले गतिविधि बढाएको आरोप लगाएको छ।

चीनको उत्तरपश्चिम सैन्य शक्तिको नेतृत्व गरिरहेका पीएलए एयर फोर्स ब्रिगेड ट्रेनिङ डिपार्टमेन्टका प्रमुख मेजर कर्णेल माओ ली सीमा क्षेत्रमा सेना परिचालन गर्नु सफलता ठान्छन्।

‘भारतीय सीमा नजिक हजारौं सेना परिचालन गर्नु सफलता हो’, उनले भने।

चिनियाँ सञ्चारमाध्यमले भारतीय सेनाले चिनियाँ भूमि गलवान उपत्यकामा अवैधरुपमा सैन्य रक्षात्मक प्रणाली निर्माण गरिरहेको आरोप लगाएका छन्। भारतीय संचारमाध्यमहरुले पनि चिनियाँ सेना भारत नियन्त्रित क्षेत्रमा एकदेखि ३ किलोमिटरसम्म घुसेको अरोप लगाएका छन्।

यसबीचमा चीनले भारतीय सीमा नजिक हजारौं सेना परिचान गरेको खबर आएको हो।

गत शनिबार सीमा विवादबारे भएको छलफल बिना निष्कर्ष टुंगिएको भारतका संचारमाध्यमले बताइरहेका छन्। यद्यपी भारतको विदेश मन्त्रालयले वार्ता सकरात्मक रहेको उल्लेख गरेको थियो।

सोमबार मात्र चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भारत–चीन सिमा विवादबारे भनेकी छन्, ‘समस्या समाधान गर्ने विषयमा अवस्था सौहार्दपूर्ण, स्थिर र नियन्त्रणमा छ।’

‘हामी यो सहमतिमा पुगेका छौं कि दुवै पक्षले शीर्ष नेतृत्वबाट भएका सम्झौताको पालना गर्नुपर्छ जसले विवाद निम्त्याउँदैन’, हुवाले भनिन्, ‘हामीले सीमानामा शान्ति र स्थिरताका लागि प्रयत्न गर्नुपर्छ साथै दुईपक्षीय सम्बन्ध विकासका लागि स्वस्थ वातावरण सृजना गर्नुपर्छ।’

तर सोमबार नै भारतका गृहमन्त्री अमित शाहले चीनसँगको सीमा विवाद सतहमा आएका बेला भारतको सीमा अतिक्रमण गर्नेले दण्ड पाउने चेतावनी दिएका थिए।

उनले भारतको सीमा अतिक्रमणको प्रयास बच्चाको खेल नभएको उल्लेख गरेका थिए।

China said troops could be deployed “within hours” to the border region. Photo: Weibo

वर्षौदेखि चीन र भारतबीच सीमा विवाद चल्दै आएको छ। भारत र चीनबीच ३ हजार ४८८ किलोमिटरको विवादित भूमिका बारेमा विवाद भइराख्छ। दुवै देशबीच सन् १९६२ मा युद्ध नै भएको थियो त्यसयता दोहोरिँदै तनाव उत्पन्न भएको छ।

सन् १९७० यता दुवै देशका सेनाबीच गोली हानाहान भने भएको छैन। सन् २०१७ मा दोक्लाममा सीमा विवाद उत्कर्षमै पुगेको थियो। दुवै देशका सेनाबीच ७० दिन तनाव उत्पन्न भएको थियो।

भारतीयले दाबी गर्दै आएको विवादित क्षेत्रमा चीनले सडक निर्माण गरेपछि विवाद सुरु भएको थियो।

सोहीवर्ष चीन र भारतीय सेनाले तनाव कम गर्न र संचारलाई बढाउन हटलाईन स्थापना गर्ने वाचा गरेका थिए।

बेइजिङस्थित सिंह्वा युनिभर्सिटीका दक्षिण एसियाका जानकार लिलि भन्छिन्, ‘सीमा विवाद समाधान नभइन्जेल दुवै देशले सीमानामा सेना बढाउँदै लान्छन्, यो प्रतिस्पर्धी कार्य चलिरहन्छ।’

नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी, सिंगापुरमा डिफेन्स एन्ड स्ट्राटेजिक स्टडीका अनुसन्धानकर्ता कोलिन कोका अनुसार चिनियाँ जनमुक्ति सेनाले धेरै वर्षदेखि सैन्य अभ्यास गरिरहेका छन् त्यसकारण सेनाहरु भारतीय सीमा नजिक परिचालन हुनु नौलो विषय होइन।

पछिल्ला वर्षहरुमा भारतले पनि सीमा नजिक सडक सन्जाल, रेल प्रणाली, हेलिप्याड बनाएर सुदृढीकरणका गतिशीलता सुधार गर्न खोजेको कोलिन बताउँछन्। (साउथ चाइना मर्निङ पोष्टबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .