भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिको दुवै मुलुकमा चर्को विरोध भएको छ।
नेपालले कसैको निर्देशनमा अतिक्रमित भूमिका विषयमा भारतको विरोध गरेको आरोप नरवणेले लगाएका थिए।
यो विषयलाई नेपालले गम्भीरतापूर्वक लिएको छ। भारतमै पनि सेनापतिले राजनीतिक टिप्पणी गरेको भन्दै विरोध भएको छ।
नरवणेको आरोपले भारतीय सेनामा कार्यरत गोर्खालीको भावना र आत्मसम्मानमा चोट पुर्याएको विश्लेषकहरुले बताएका छन्।
यससँगै नेपाली सेनाले भारतीय सेनापतिलाई र भारतीय सेनाले नेपालका सेनापतिलाई ‘मानार्थ सेनापति’ को सम्मान दिने प्रचलन यहीबेला अन्त्य गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ।
दशकौँदेखि नेपाली सेनापति भारतीय सेनाको र भारतीय स्थल सेनाप्रमुख नेपाली सेनाको मानार्थ महारथी रहँदै आएका छन्।
सांसद समेत रहेका सुरक्षाविज्ञ डा. दीपकप्रकाश भट्ट नेपाल र भारतका सेनाबीच रहेको यस्तो विशिष्ट अन्यत्र कहीँ नभएको बताउँछन्।
‘बाहिर हेर्दा मानार्थ मात्रै देखिए पनि यो डिफेन्स डिप्लोमेसीको महत्वपूर्ण अंग हो,’ भट्टले भने, ‘एक देशको सेनाले अर्को देशको सेनापतिलाई महारथीको सम्मान दिने यस प्रकारको व्यवस्था अन्य कुनै मुलुकमा पाइन्न।’
उपनिवेशकालको विरासत
नेपाली सेनाको इतिहास लेखेका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले यो परम्परा बेलायती उपनिवेसको विरासत भएको बताए। भारतमा बेलायती उपनिवेश रहेकै बेलादेखि एकअर्काको सैनिक अधिकारीलाई मानार्थ पदवी दिने प्रचलन रहेको उनी बताउँछन्।
सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालले एक तिहाइ भूभाग मात्रै गुमाएन, नेपाली युवालाई बेलायती सेनामा भर्ती हुने बाटो पनि खोल्यो।
राणा शासन सुरु भएपछि त्यसमा कडाइ गर्न थालियो। बेलायती सेनामा भर्ना हुन जानेलाई मात्रै होइन, उसको परिवारलाई समेत कारवाही गर्न थालियो। युवाहरुलाई भर्ना गराउन गाउँगाउँ जाने गल्लावाललाई जेल हालिन्थ्यो। यो क्रम जंगबहादुरपछि रणोद्वीपको शासनसम्म चल्यो।
रणोद्वीपको हत्यापछि जहानियाँ शासनको बागडोर शमशेर खलकतर्फ सर्यो। वीर शमशेर श्री ३ महाराज बने। तर जंग खलकको नभएको भन्दै केही समय अंग्रेजले उनलाई मान्यता दिएन।
‘त्यही समयमा वीर शमशेर अंग्रेज सेनामा भर्ती हुनेमाथि गरिँदै आएको कारबाही हटाउन राजी भए,’ बस्न्यात भन्छन्, ‘खुसी भएको अंग्रेजले वीर शमशेरलाई श्री ३ महाराज मात्रै स्वीकार गरेन, गोर्खा बिग्रेडको सेनाको मानार्थ लेफ्टिनेन्ट कर्णेलको पद पनि प्रदान गर्यो।’
त्यही बेलादेखि एकअर्काका सैनिक अधिकारीलाई मानार्थ पदवी दिने परम्परा सुरु भएको थियो।
‘त्यो उपनिवेशको विरासतले अहिलेसम्म निरन्तरता पाएको छ,’ बस्न्यातले भने, ‘पदम शमशेरको देहरादुनमा निधन भयो। त्यस समयमा उनलाई सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।’
चन्द्र शमशेरले भने अंग्रेजबाट मेजर जनरलको पदवी पाएका थिए। उनको पालादेखि अरुले पनि त्यही पदवी प्राप्त गर्न थाले।
सन् १९४७ पछि बेलायतमा भारतको औपविनेशिक शासन समाप्त भयो। भर्ना गरिएका गोर्खा सैनिक पनि बाँडफाँट गरियो।
‘भारतका लागि अन्तिम बेलायती भोइसराय तथा पहिलो गभर्नर जनरल लुइस माउन्टबेटनले आपसी मानार्थ पदवी दिने यो परम्परालाई निरन्तरता दिन सुझाएका थिए,’ बस्न्यातले भने।
सन् १९५० देखि भने एकअर्काका सेनापतिलाई मानार्थ महारथीको पदवी दिन थालियो। तत्कालीन भारतीय सेनाध्यक्ष केएम करिअप्पाले नेपाली सेनाको मानार्थ महारथीको पहिलो उपाधि पाएका थिए।
‘भारत नेपालको राजालाई त्यो उपाधि दिन चाहन्थ्यो,’ उनी भन्छन्, ‘तर, राजा त्रिभुवनले सैनिक अधिकारीलाई अघि सार्नुभयो। त्यसपछि दुवै देशका सेना प्रमुखलाई एक अर्को देशको मानार्थ महारथीको उपाधि दिन थालिएको हो।’
यद्यपि, बेलाबखत विवाद हुँदा एकले अर्को देशका अधिकारीलाई मानार्थ पदवी नदिएको उदाहरण पनि रहेको बस्न्यातले बताए।
‘पञ्चायतको उत्तराद्र्धमा नेपाल र भारतबीच तनाव बढेको समयमा दुवै देशका सेना प्रमुखहरु कसैले पनि मनार्थको उपाधि पाएनन्,’ उनले भने।
त्यो बेला नेपाली सेनाका लागि सरकारले चीनबाट हतियार किनेपछि भारतले आपत्ति जनाएको थियो। सो विवाद बढ्दै गएर २०४५ चैत १० बाट नेपालमा १३ महिनासम्म नाकाबन्दी पनि लगाएको थियो।
त्यो समयमा नेपाली सेनाका सेनापति सच्चित शम्शेर जबरा थिए। जबराले मानार्थ महारथीको उपाधि पाएनन्।
‘अहिले त्यो परम्परा हटाउँदा गलत सन्देश जान्छ’
नेपालका हालका सेनापति पूर्णचन्द्र थापालाई २०७५ पुसमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए। नरवणे २०७६ पुस १५ मा भारतीय स्थल सेनाका प्रमुख बनेका छन्। तर, उनी नेपाल भ्रमणमा आएका छैनन्।
यसबीचमा नेपालमाथि अपमानपूर्ण टिप्पणी गरेपछि नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी दिन नहुने आवाज उठ्न थालेको हो।
तर, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी उमेश भट्टराई यो परम्परालाई अहिले रोक्दा राम्रो सन्देश नजाने बताउँछन्।
‘सीमाका विषयमा हामीले आफ्नो अडान राख्नु पर्छ। तर परम्परालाई छाड्दा त्यसले राम्रो सन्देश दिँदैन,’ भट्टराईले भने, ‘उनीहरुले सम्मान गरुञ्जेल हामीले पनि गर्नुपर्छ। हामी नम्र हुनुपर्छ भन्नुको अर्थ हामी झुक्नुपर्छ भन्ने होइन।’
प्रतिक्रिया