भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।
गएको सोमबार भारत भ्रमणमा गएका लामिछानेले मंगलबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसहितका नेतासँग भेटवार्ता गरेका थिए।
भारतीय गृहमन्त्री शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो।
भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिवदेखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्षदेखि गृहमन्त्री हुँदासमेत शाहले कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन्।
उनले आजसम्म पार्टी अध्यक्ष अथवा गृहमन्त्रीको रूपमा विदेश यात्रा गरेका छैनन्। तर, अहिले भने पहिलोपटक विदेशी दलका नेताका रूपमा लामिछानेसँग भेट गरेका हुन्।
लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
Shares

प्रतिक्रिया