रास्वपा सांसद बोधनारायण श्रेष्ठले धादिङको रुबीभ्यालीस्थित सेर्तुङमा एक साइकल यात्रीको दुर्घटना भएपछि सो क्षेत्रलाई कालोसूचीमा राख्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण जनाएका छन्।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले धादिङका जनप्रतिनिधिहरूसँग सल्लाह नगरी कालोसूचीमा राख्ने काम नगर्न ध्यानाकर्षण गराएका हुन्।
‘सो क्षेत्रलाई ब्ल्याक लिस्ट (कालोसूची) मा राख्ने र अहिले पर्यटक, साइकलयात्रीहरूलाई नपठाउने भनिएको छ,’ उनले भने, ‘दुर्घटना हुने क्षेत्रलाई ब्ल्याक लिस्टमा राख्दै जाने हो भने सबैभन्दा पहिले हाइवे (राजमार्ग) लाई ब्ल्याक लिस्टमा राख्नुपर्ने अवस्था हुन सक्छ।’
उनले सो क्षेत्र पर्यटकीय क्षेत्र भएकाले सुरक्षाका कामहरू अगाडि बढाउनुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने बताए।
गत जेठ १० गते सेर्तुङको गुफाभिर नजिक साइकल अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँका प्रशान्त पाण्डे गम्भीर घाइते भएका थिए।

प्रतिक्रिया