ad ad

राजनीति


उपत्यकाका सबै स्थानीय तहलाई गृहको पत्रः सरकारले नै बुझेन आरडीटीको अर्थ

उपत्यकाका सबै स्थानीय तहलाई गृहको पत्रः सरकारले नै बुझेन आरडीटीको अर्थ

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १०:२,

बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै गृह मन्त्रायलयले लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक काठमाडौं प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएकाे छ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा यही जेठ १ गते उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाका नाकासँग जोडिएका स्थानीय तहका प्रमुख/उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसमेतको सहभागितामा भएको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो।

त्यस निर्णयमा अति आवश्यक काम परेकाले उपत्यका प्रवेश गर्नुपर्दा पूरा गर्नुपर्ने मापदण्डमा एउटा आधार आरडीटी रिपोर्टलाई पनि बनाइएको छ।

गृहले गरेकाे निर्णयकाे बुँदा नम्बर ४ मा भनिएको छः ‘काठमाडौं उपत्यकामा अत्यावश्यक कामले प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वयं आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सोको रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्नेछ।’

हेर्नुहाेस् गृहकाे पत्र र निर्णय:

grihapatraaa

तर आरडीटी रिपोर्ट कोरोना रहे/नरहेको आधार हुन नसक्ने विज्ञले बताइरहेका छन्। उसो त अहिले सरकारले नै सञ्चालन गरिरहेको आरडीटी परीक्षणमा पोजिटिभ देखिएका प्रायः व्यक्ति पीसीआर परीक्षणमा नेगेटिभ देखिएका छन् भने आरडीटी नेगेटिभ देखिएकाहरू पीसीआरमा पोजिटिभ देखिएका छन्।

प्रयोगशाला विज्ञका अनुसार आरडीटी आफैंमा कोरोना परीक्षण होइन। यो त कोरोना संक्रमण भएपछि मानिसको शरीरले भाइरससँग लड्न  प्रतिरोधात्मक शक्ति विकास गर्छ, जसलाई एन्टिबडी भनिन्छ। यो कोरोना भाइरस संक्रमण भएको १ हप्तापछि मात्र मानिसको रगतमा देखिन्छ। आरडीटी परीक्षणले त्यही एन्टिबडी छ कि छैन भनेर पत्ता लगाउने हाे, यसैकारण रगत जाँचिन्छ।

चिकित्सकका अनुसार मानिसको शरीरमा त्यस्तो एन्टिबडी दुई हप्ताभन्दा पनि लामो समयसम्म रहिरहन्छ। तर त्यतिबेलासम्म त्यस व्यक्तिकाे शरीरमा कोरोना भाइरस निष्क्रिय भइसकेको हुन्छ र उसले अरूलाई रोग सार्न सक्दैन। यसको अर्थ आरडीटी पोजिटिभ आउनु व्यक्ति वर्तमान अवस्थामा कोरोना संक्रमित छ भनेर प्रमाणित हुनु होइन। 

अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्निया, सानफ्रानसिस्कोमा रिसर्च स्कलरका रूपमा क्यान्सर अनुसन्धानमा संलग्न डा. रौनक श्रेष्ठका अनुसार आरडीटी परीक्षणले आजका दिनमा भाइरस संक्रमण छ वा छैन भन्ने सूचना दिन सक्दैन। पीसीआर विधिले मात्र कोरोना भाइरस छ वा छैन भन्ने जानकारी दिन सक्छ। नयाँ संक्रमण पहिचान गर्न सक्छ।

तर गृहले गरेको निर्णयमा आरडीटी रिपोर्टलाई आधार बनाएको देख्दा सरकारले आरडीटी पोजिटिभ हुनु नै संक्रमित हुनुको प्रमाण ठानेको देखिन्छ।

डा. रौनक श्रेष्ठ भन्छन्,  ‘भाइरस संक्रमण भएको ७ दिनदेखि ६ महिनासम्म (वा योभन्दा पनि बढी) यो एन्डिबडी प्रोटिन मानिसको रगतमा रहिरन्छ। रगतमा यो एन्डिबडी प्रोटिन देखिए, आरडीटी परीक्षणको नतिजा पोजिटिभ आउँछ। तर भाइरस संक्रमण भएको १ देखि ७ दिनसम्म आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आउँछ। किनभने यो भाइरस संक्रमणको प्रारम्भिक चरणमा शरीरभित्र भाइरस भए पनि रगतमा एन्डिबडी प्रोटिन बनिसकेको हुँदैन। त्यसैले आरडीटीमा नेगेटिभ देखिएका हरेक मानिसमा पीसीआर परीक्षण गर्न जरुरी हुन्छ।’

यसको अर्थ कुनै पनि मानिसमा कोरोना संक्रमण छ कि छैन भनेर आरडीटी रिपोर्टले देखाउन सक्दैन, त्यसको निश्चित पीसीआर परीक्षणबाट मात्रै हुन्छ।

तर याे वैज्ञानिक तथ्य सरकारले अझै नबुझेको प्रस्ट हुन्छ। गृहले उपत्यकाका स्थानीय तहलाई गरेको पत्रअनुसार अत्यावश्यक काम परेर कोही व्यक्ति उपत्यका प्रवेश गर्न चाहे उसले आरडीटी रिपोर्ट नेगेटिभ देखाए प्रवेश पाउने देखिन्छ भने त्यस्तै जरुरी काम परेका अर्का व्यक्तिले आरडीटी पोजिटिभ रिपोर्ट देखाए ऊ कोरोनाबाट मुक्त भइसकेको भए पनि प्रवेश नपाउने देखिन्छ।

यस विषयमा एक जना स्वास्थ्य क्षेत्रका विज्ञ सरकारी अधिकारीलाई नेपालखबरले जिज्ञासा राख्दा ‘कुरा त्यही हो। मेरो नाम किन राख्नु, मेराे जागिर जान सक्छ, त्यही भएर मेरो कोट नगर्नुहोला, बरु म तुरुन्तै यो विषयमा सरकारलाई सजग गराउँछु।’

याे पनि: 

यस्तो अवस्थामा आउँछ आरडीटी नेगेटिभ, पीसीआर पोजिटिभ

अब उपत्यका छिर्ने सबै नाका सिल हुने, प्रवेशका लागि आरडीटी रिपोर्ट चाहिने

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .